फिचरमकवानपुरमा ३ हजार कर्मचारी र ४ हजार सुरक्षाकर्मी परिचालन, १९ स्थल अतिसंवेदनशील

मकवानपुरमा ३ हजार कर्मचारी र ४ हजार सुरक्षाकर्मी परिचालन, १९ स्थल अतिसंवेदनशील

हेटौँडा | मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिका पुनः प्रयोगमा ल्याउने निर्णय गरेको छ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मतपेटिकाको सफाइ, मर्मत तथा प्राविधिक परीक्षण अन्तिम चरणमा पुगेको छ। कार्यालय परिसरमा कर्मचारी पुराना मतपेटिका धुने, सुकाउने, आवश्यक भाग मर्मत गर्ने तथा ताला–सिल परीक्षणमा व्यस्त छन्। स्रोतसाधनको अधिकतम सदुपयोग र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै पुनः प्रयोगयोग्य सामग्रीलाई प्राथमिकता दिइएको उनले बताए।

‘सरकारी स्रोतको मितव्ययी उपयोग हाम्रो दायित्व हो,’ ढकालले भने, ‘प्राविधिक रूपमा उपयुक्त रहेका मतपेटिका पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय दृष्टिले पनि सकारात्मक सन्देश जान्छ।’

निर्वाचन कार्यालयका अनुसार एक मतदान केन्द्रमा कम्तीमा ५२ प्रकारका सामग्री आवश्यक पर्छन्। ती सामग्री केन्द्रअनुसार छुट्टाछुट्टै प्याकेजिङ गरी सूचीबद्ध रूपमा तयार पारिँदैछ। प्रत्यक्षतर्फ ४३ लिटर र समानुपातिकतर्फ ८५ लिटर क्षमताका दुई मतपेटिका प्रत्येक केन्द्रमा पठाइने छन्। साथै, एक जगेडासहित तीनवटा मतपेटिका व्यवस्था गरिएको छ।

यसका अतिरिक्त मतपत्र, मतदाता नामावली, छाप, स्ट्याम्प प्याड, रजिस्टर, फाराम, गोपनीयता पर्दा, सुरक्षा सिल, ट्याग, मसी, स्टिकर, मतदानकक्ष संकेत बोर्ड तथा निर्देशन पुस्तिकालगायत सामग्री तयारी अवस्थामा छन्। मतदानका दिन कुनै सामग्री अभाव नहोस् भन्ने उद्देश्यले प्रत्येक केन्द्रका लागि आवश्यक सामग्रीको पुनः जाँच (क्रसचेक) गरिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन भइरहेको र हालसम्म कुनै गम्भीर उजुरी नआएको ढकालले जानकारी दिए। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार, सभा–जुलुस, सामाजिक सञ्जाल प्रयोग, खर्च विवरणलगायत गतिविधिमाथि विशेष निगरानी राखिएको उनले बताए।

“आचारसंहिता उल्लंघनसम्बन्धी सूचना प्राप्त भएमा तत्काल छानबिन गरी आवश्यक निर्देशन वा कारबाही गर्ने संयन्त्र सक्रिय अवस्थामा छ,” उनले भने, “निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध छ।”

प्रदेश निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तह, निर्वाचन फोकल पर्सन, प्रशासन तथा सुरक्षा निकायसँग दैनिक समन्वय बैठक गर्दै अनुगमनकार्य अघि बढाइरहेको जनाएको छ।

मकवानपुरका १७६ मतदानस्थलअन्तर्गत ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी परिचालन गरिने भएको छ। निर्वाचन अवधिभर दुई हजार २४४ कर्मचारी र एक हजार १२२ स्वयंसेवक खटिने ढकालले जानकारी दिए।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित आयोगबाट छ जना कर्मचारी खटाइनेछन् भने मतदानस्थलमा तीन जना स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ। खटाइने कर्मचारीलाई आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन करिब चार हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब दुई हजार २०० निर्वाचन प्रहरी खटाइनेछन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जनपथ प्रहरीको एकिन संख्या केही दिनमै टुंगो लाग्ने जानकारी दिए। सुरक्षा निकायले संवेदनशील क्षेत्रमा विशेष निगरानी, नियमित गस्ती तथा प्रचारप्रसार गतिविधिको अनुगमन गर्ने जनाएको छ।

जिल्लामा कुल १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। अतिसंवेदनशील सूचीमा २६ मतदान केन्द्र परेका छन्। बकैया गाउँपालिकामा पाँच मतदानस्थल अतिसंवेदनशील रहेका छन्। राक्सिराङ, बागमती, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका केही स्थल पनि सो सूचीमा समावेश छन्।

संयुक्त अनुगमन टोलीले मतदानस्थलको भौतिक अवस्था, पहुँचमार्ग, सञ्चार सम्पर्क, मतदानकक्ष व्यवस्थापन तथा सुरक्षा संवेदनशीलताको मूल्यांकन गरिसकेको छ। भीमफेदीको एक मतदानस्थलमा सडक पहुँच नभएकाले पैदलमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारीले बताए।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायमार्फत सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।

‘लोकतन्त्रको सुदृढीकरणका लागि मतदाताको सक्रिय सहभागिता अनिवार्य छ,’ ढकालले भने, ‘सबै सरोकारवाला पक्षको सहकार्यले मात्र निर्वाचन सफल हुन्छ।’

निर्वाचन मिति नजिकिँदै जाँदा मकवानपुरमा प्रशासनिक, प्राविधिक तथा सुरक्षा तयारी तीव्रगतिमा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img