धनगढी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको कुशासन, बेथिति, बेरोजगारी र अशिक्षालाई एकैपटक अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै यस क्षेत्रलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन्। बुधबार धनगढीमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै उनीहरूले सुदूरपश्चिमको मुद्दा र अधिकारलाई मागको नाममा वर्षौंसम्म अल्झाउने अभ्यास अन्त्य गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने उद्घोष गरे।
सभापति लामिछानेले फागुन २१ गते मतपत्रमा छाप लगाउने दिन भए पनि “मनपत्रमा छाप लागिसकेको” दाबी गर्दै कुशासन, बेथिति, बेरोजगारी र अशिक्षाको ‘सटर’ बन्द गरेर इतिहास रच्ने आह्वान गरे। उनले जनताको अधिकारलाई हरेक चुनावमा घोषणापत्रमा लेखेर मात्र सीमित गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने बताए। “जनताले भोट दिने, नेताले बाचा गर्ने र सजाय जनताले पाउने अवस्था अब अन्त्य हुनुपर्छ,” उनले भने, “बाचा गरेर पूरा नगर्नेले सजाय पाउनुपर्छ।” उनले भारतसहित विदेशमा रहेका नेपालीलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गर्दै यसपटक मत नबाँड्न पनि अपिल गरे।
उता, वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने सपना पूरा गर्ने शक्ति रास्वपासँग मात्र रहेको दाबी गरे। आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै उनले पूर्वाधार विकासमा ढिलासुस्ती सह्य नहुने स्पष्ट पारे। “दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, अब डेढ वर्षमै बन्नुपर्छ,” उनले भने, “रुखमा बाँधेर होस् वा बाटोमा सुताएर, बाटो बन्नै पर्छ।” रास्वपा सरकारमा गए कांग्रेस, एमाले, माओवादी सबैका कार्यकर्ता र सर्वसाधारण हिँड्ने बाटो बनाइने उनको दाबी थियो।
शाहले सुदूरपश्चिममै बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्जजस्ता प्राकृतिक तथा पर्यटकीय सम्भावनाको खानी रहेको उल्लेख गर्दै “स्विट्जरल्यान्ड बनाउने” चर्चा भन्दा आफ्नै सम्भावनालाई चिनाउनुपर्ने धारणा राखे। “हामीसँग भएको चिज देखाउन सकेका छैनौं, सुदूरपश्चिमलाई जोड्न सकेका छैनौं,” उनले भने। सुदूरपश्चिम र काठमाडौंबीच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमका गीत काठमाडौंका चोक–चोकमा बज्ने दिन नै साँचो अर्थमा यो क्षेत्र जोडिने बताए।
सभामा दुवै नेताले रास्वपा भोट मात्र माग्न नभई काम माग्न आएको सन्देश दिए। “भोट नदिए पनि हुन्छ, कामको सूची दिनुस्, काम गरेर देखाउँछौं,” शाहले भने। लामिछानेले पनि यसपटक जनतालाई जिताउने चुनाव हुने दाबी गर्दै परिवर्तनका लागि एकताबद्ध भएर मतदान गर्न आग्रह गरे।



