निर्वाचनमेयरबाट सांसद बन्ने दौडमा बालेन, झापा–५ मा ठूलो परीक्षा

मेयरबाट सांसद बन्ने दौडमा बालेन, झापा–५ मा ठूलो परीक्षा

झापा | काठमाडौं महानगरपालिकाको मेयरमा अप्रत्याशित जित हात पारेर नेपाली राजनीतिमा उदाएका ३६ वर्षीय बालेन्द्र शाह ‘बालेन’ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तहमा बनाएको छविलाई राष्ट्रिय राजनीतिमा विस्तार गर्ने उनको निर्णयलाई समर्थकले साहसिक कदमका रूपमा लिएका छन् भने आलोचकले यसलाई राजनीतिक जोखिमका रूपमा व्याख्या गरेका छन्।

चार वर्षअघिसम्म नयाँ पुस्ताबीच र्‍यापरका रूपमा परिचित रहेका बालेन २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा धेरैका लागि आश्चर्य बने। चुनावी नतिजाले परम्परागत दलभन्दा बाहिर पनि मतदाताको विकल्प खोज्ने प्रवृत्ति बढ्दै गएको संकेत दियो। मेयर बनेपछि उनले अवैध संरचना हटाउने, विद्यालय सुधार, स्वास्थ्य सेवा विस्तार र सम्पदा संरक्षणमा सक्रियता देखाउँदै ‘बोल्नेभन्दा काम गर्ने’ नेतृत्वको छवि बनाउन खोजे।

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनले पेशागत रूपमा देशका विभिन्न जिल्लामा काम गरेको अनुभव सुनाउँछन्। २०७२ सालको भूकम्पपछि उद्धार र राहत कार्यमा संलग्न भएर उनले समाजसेवीको छवि पनि बनाएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशपछि उनले जनकपुरमा आयोजित सभामा संघीयताको प्रभावकारी कार्यान्वयन र प्रशासनिक विकेन्द्रीकरणको वकालत गरे। ‘प्रशासकीय काम स्थानीय तहमै हुनुपर्छ’ भन्ने उनको भनाइलाई उनले विकासको भिजनसँग जोड्दै आएका छन्। डिजिटल सरकार, सिपमा आधारित रोजगारी र ‘आइडिया बैंक’ जस्ता अवधारणा उनका मुख्य एजेन्डा हुन्।

झापा–५ मा उनको उम्मेदवारी आफैंमा चुनौतीपूर्ण मानिन्छ। यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बलियो पकड छ। जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णयले बालेनको आत्मविश्वास र जोखिम मोल्ने राजनीतिक स्वभाव झल्काउँछ। समर्थकहरूका अनुसार व्यक्ति र पार्टी दुवैतर्फ देखिएको चुनावी लहर उनको अनुकूलता हो भने आलोचकहरू विना संगठन केवल लहरकै भरमा जित निकाल्न कठिन हुने तर्क गर्छन्।

वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेनतर्फ मोडिन सक्ने आँकलन छ। तर परम्परागत दलप्रति निष्ठावान मतदाता अझै बलियो रहेको यथार्थमा उनको चुनौती सजिलो छैन। काठमाडौंको मेयर बनेर देखाएको ‘डेलिभरी’ क्षमताले संघीय चुनावमा कति भरोसा जित्छ भन्ने प्रश्नको उत्तर भने अन्ततः मतदाताको निर्णयले नै दिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img