निर्वाचन‘हर्कवाद’ बोकेर संसदीय राजनीतिमा हर्कराज राई साम्पाङ

‘हर्कवाद’ बोकेर संसदीय राजनीतिमा हर्कराज राई साम्पाङ

सुनसरी | नेपाली राजनीतिमा परम्परागत ढाँचाभन्दा बिल्कुल फरक शैली र भाषाका कारण चिनिएका हर्कराज राई साम्पाङ यसपटक सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। सामाजिक सञ्जालमार्फत राजनीतिक दल र तिनका नेतृत्वमाथि कडा प्रहार गर्दै आएका साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएर राष्ट्रिय स्तरमा चर्चामा आएका थिए। दलीय राजनीति, नीति र नेतृत्वप्रति असहमति जनाउँदै आएका उनले पछि श्रम संस्कृति पार्टी दर्ता गरेर त्यसको अध्यक्षको जिम्मेवारी सम्हाले र अहिले सोही पार्टीको तर्फबाट संसदीय चुनाव लडिरहेका छन्।

२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक हुन्। पूर्वब्रिटिस गोर्खा सैनिक परिवारका कान्छा सन्तानका रूपमा हुर्किएका उनले खोटाङकै शुक्रबारे माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि २०५७ सालतिर उच्च शिक्षाका लागि धरान झरेर संघर्षपूर्ण जीवन बिताए। जीवनमा केही फरक गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई भाषा प्रशिक्षण केन्द्रमा जागिर खान, अनि अफगानिस्तान र इराकसम्म पुगेर अमेरिकी तथा ब्रिटिस कम्पनीअन्तर्गत काम गर्न प्रेरित गर्‍यो। वैदेशिक रोजगारबाट फर्किएपछि उनले जीविकोपार्जनका लागि एकता टेम्पो यातायात संघ दर्ता गरी त्यसको अध्यक्षको भूमिका पनि सम्हाले।

सानैदेखि जिद्दी र विद्रोही स्वभावका साम्पाङले आफूलाई ‘क्रान्ति’ भन्ने उपनामसमेत दिएका थिए। राष्ट्रिय एकता सञ्जाल, आदिवासी मूलवासी एकता सञ्जाल र आम एकता अभियानमार्फत उनले भ्रष्टाचारविरुद्ध सडक र सामाजिक सञ्जालमा चर्का नारासहित आवाज उठाए। दाजुको नाममा रहेको धरानको बुद्धचोक नजिक धनकुटे मार्गस्थित घरजग्गा उनको स्थायी आधार बन्यो। कला क्षेत्रमा रुचि राख्ने उनले २०६४ सालमा आफ्नै शब्द रहेको ‘मिसिङ हर्ट’ नामक लोक–आधुनिक एल्बमसमेत सार्वजनिक गरे, तर संगीत क्षेत्रमा अपेक्षित सफलता नपाएपछि त्यो सपना त्यागेर अभियन्ताका रूपमा झन् आक्रामक बने।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथितिविरुद्ध आवाज उठाउनु, नदी–खोलाका ढुंगा, गिटी, बालुवा ठेक्कामा हुने मिलेमतोको विरोध गर्नु र धरानको खानेपानी समस्यालाई केन्द्रमा राखेर श्रम अभियान चलाउनु उनका गतिविधिका प्रमुख आधार बने। खानेपानीलाई एकसूत्रीय एजेन्डा बनाएर २०७९ सालको स्थानीय निर्वाचनमा लौरो चिह्न लिएर मेयर पदमा उम्मेदवारी दिएका उनले एमाले, कांग्रेस र माओवादीजस्ता ठूला दलका उम्मेदवारलाई पछि पार्दै जित हात पारे। बेलायत, सिंगापुर र भारतका पूर्वगोर्खा सैनिकको आर्थिक सहयोग र व्यापक श्रमदानमा करिब ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट धरानमा पानी ल्याउने प्रयास गरियो, जसमा करिब ८ करोड रुपैयाँ खर्च भएको बताइन्छ। धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत थप करिब २ करोड रुपैयाँ खर्च भए पनि धरानको पानी समस्या पूर्ण रूपमा समाधान भने हुन सकेन। चन्दाकै भरमा सर्दु खोलाको किनारमा श्रम संस्कृति पार्क निर्माण गर्नु उनको अर्को चर्चित पहल बन्यो।

धरानमा स्वतन्त्र मेयर बनेको करिब साढे तीन वर्ष नपुग्दै उनले पदबाट राजीनामा दिएर सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिने निर्णय गरे। सामाजिक सञ्जालमा अत्यन्त सक्रिय साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, बालेन शाह, रवि लामिछाने, महावीर पुनदेखि कुलमान घिसिङसम्मलाई पनि तिखो टिप्पणी गर्ने गरेका छन्।

उनको राजनीतिक यात्रामा मतपरिणाम पनि रोचक छ। २०७६ सालको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा उठ्दा उनले ४२२ मत मात्र पाएका थिए। तर २०७९ सालको स्थानीय निर्वाचनमा भने कूल १ लाख ३ हजार मतदाता रहेको धरानमा २० हजार ८२१ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र पाए। एमालेको गढ मानिएको धरान भत्काउँदै साम्पाङले परम्परागत दल राजनीतिलाई गम्भीर झट्का दिएका थिए।

प्रधानमन्त्रीको कुर्सी ताकेको उद्घोषसँगै उनी अब संसदीय राजनीतिमा फड्को मार्ने प्रयासमा छन्। पछिल्लो समय श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ र त्यसका एक मात्र सिद्धान्तकार आफू नै भएको दाबी गर्दै आएका साम्पाङ सुनसरी–१ मा फेरि पनि चर्चाको केन्द्रमा छन्। मेयरका रूपमा बनाएको विद्रोही छवि, श्रम अभियानको अनुभव र सामाजिक सञ्जालको प्रभाव संसद् यात्राका लागि कत्तिको निर्णायक हुन्छ भन्ने प्रश्नको उत्तर भने अन्ततः मतदाताको निर्णयले नै दिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img