अन्तर्राष्ट्रिय१२ वर्षपछि टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित

१२ वर्षपछि टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित

दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड ७ विकेटले पराजित

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालले १७१ रनको लक्ष्य १९.२ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गर्दै ‘फिनिसर’ को भूमिका निर्वाह गरे । कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै सानदार सुरुवात दिलाए । बलिङतर्फ सोमपाल कामी र नन्दन यादवको प्रभावकारी प्रदर्शनले स्कटल्यान्डलाई प्रतिस्पर्धात्मक स्कोरमा सीमित गरेको थियो ।

कुशल–आसिफको सुरुवात, दीपेन्द्रको फिनिस

१७१ रनको लक्ष्य पछ्याएको नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको ५६ रनको पावर प्ले साझेदारीमार्फत बलियो सुरुवात गर्‍यो । पहिलो विकेटका लागि उनीहरूले ९.१ ओभरमा ७४ रन जोडे । कुशल ४३ रनमा आउट हुँदा नेपाल ७४ रनमा पहिलो विकेट गुमाएको थियो । आसिफले २७ बलमा ३३ रन जोडे ।

कप्तान रोहित पौडेल (१६) आउट भएपछि नेपाल केही दबाबमा देखिए पनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले इनिङ्स सम्हाले । दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै महत्वपूर्ण अर्धशतक पूरा गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई जिततर्फ डोर्‍याए । गुल्सन झाले अविजित २४ रन जोडे ।

स्कटल्यान्डको १७० रन

टस जितेर बलिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । ओपनर माइकल जोन्सले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोडे ।

पहिलो १० ओभरमा ८० रन जोडेको स्कटल्यान्डलाई डेथ ओभरमा नेपाली बलरले दबाबमा राखे । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिँदै लय तोडे । उनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट झारे ।

यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपाल इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो । तर अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्दै नेपालले आफ्नो विश्वकप यात्रा सकारात्मक रूपमा समाप्त गरेको छ । सन् २०१४ पछि टी–२० विश्वकपमा नेपालको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img