काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि जनतामाझ आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार ‘भिजन १०’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
पार्टी सभापति गगनकुमार थापा, उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेश सभापतिसहितका शीर्ष नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्र सार्वजनिक भएपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ‘भिजन १०’ का बुँदाबारे विस्तृत जानकारी गराएको छ । कांग्रेसले आगामी आमनिर्वाचनबाट बहुमतसहित लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार गठन गर्ने लक्ष्य लिएको जनाएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधसहित तयार पारिएको प्रतिज्ञापत्रले नेपाललाई संसारकै उत्कृष्ट देशमध्ये एक बनाउने मार्गचित्र प्रस्तुत गरेको दाबी गरे । उनका अनुसार प्रतिज्ञापत्रका प्रत्येक बुँदामा स्पष्ट अर्थ, कार्ययोजना र कार्यान्वयनको आधार रहेको छ ।
“कांग्रेसले प्रस्तुत गरेको प्रतिज्ञापत्र केवल घोषणामात्र होइन, कार्यान्वयनका आधारमा पार्टी, नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन हुनुपर्छ भन्ने हाम्रो चाहना हो,” चालिसेले भने, “अमूक वा अर्मूत कारण देखाएर जिम्मेवारीबाट पन्छिने छैनौँ । प्रतिज्ञा पूरा गर्न कांग्रेस प्रतिबद्ध छ ।”
कांग्रेसले प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ का रूपमा सार–संक्षेप गरेको छ । पार्टीका अनुसार यसलाई ‘कांग्रेस २.०’ को जगका रूपमा व्याख्या गरिएको छ । पुनरुत्थानको सुरुआत गरेको कांग्रेसले जनताको अपेक्षा अनुसारको भविष्य साकार पार्ने संकल्प लिएको जनाएको छ ।
नेपाली कांग्रेसका १० भिजन:
१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्किने नेपाल



