राजनीतिपूर्वराजा ज्ञानेन्द्रको सन्देश: राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्छ

पूर्वराजा ज्ञानेन्द्रको सन्देश: राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै वर्तमान निर्वाचन प्रक्रियाप्रति असहमति जनाएका छन् । उनले राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारी कायम नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा राखेका छन् ।

सन्देशमा पूर्वराजाले प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका छन् । केही महिना झापामा बसेपछि काठमाडौं फर्कँदा फागुन २१ गते आफूलाई स्वागत गर्ने सर्वसाधारण, आदिवासी तथा नागरिकप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् । उनलाई स्वागत गर्ने कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं हाल सरकारको हिरासतमा रहेको पनि सन्देशमा उल्लेख गरिएको छ ।

देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै पूर्वराजाले द्वन्द्व रोक्न र सद्भाव बढाउन सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए । “देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्,” उनले भनेका छन् ।

पूर्वराजाले प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक भए पनि वर्तमान अवस्थामा राष्ट्रिय समस्याको समाधान पहिलो शर्त भएको बताए । “प्रजातन्त्रमा राजनीतिक प्रक्रिया संवैधानिक मान्यताअनुसार चल्नुपर्छ, आवधिक निर्वाचन स्वाभाविक पनि हो,” उनले भने, “तर अहिले मुलुकका राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त हुँदैन । सर्वपक्षीय पहल र समझदारीपछि मात्रै निर्वाचनमा जानु उचित हुन्छ । यसो गर्दा अर्को द्वन्द्व टार्न सकिन्छ ।”

उनले अधिकार मात्रै खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै कर्तव्यबोधका आधारमा देशलाई संकटबाट निकाल्न सबैलाई आग्रह गरेका छन् । साथै देशको भूगोल र प्राकृतिक प्रणालीअनुसार मात्रै स्थायित्व सम्भव हुने भन्दै व्यवस्थाका राम्रा पक्षलाई कायम राख्दै जनताको जीवन सहज बनाउँदै जानुपर्ने धारणा राखे ।

“देशको भू–बनोट र प्रकृतिअनुसारको प्रणालीले मात्रै स्थायित्व दिन सक्छ । कुनै पनि व्यवस्थामा राम्रा र नराम्रा पक्ष हुन्छन्,” उनले भने, “आवश्यक परिमार्जन र सुधार गर्दै जनताको जीवन सरल बनाउँदै जानुपर्छ । प्रजातन्त्रमा सबै थरी विचार र संस्कारको आधार हुनुपर्छ ।”

देश अहिले अस्वाभाविक छटपटीको भूमरीमा परेको उल्लेख गर्दै पूर्वराजाले विगतका संघर्ष र आन्दोलनबाट भएको परिवर्तनको समीक्षा गर्नुपर्ने बताए । “हाम्रो अहिलेको शत्रु विपन्नता र अस्थिरता हो,” उनले भने, “संघर्ष र परिवर्तनपछि नेपाल र नेपालीले के पाए भन्ने आत्मसमीक्षा आवश्यक छ ।”

सन्देशको अन्त्यमा उनले सामाजिक मूल्य, संस्कार र सबै विचारको सम्मान गर्दै राष्ट्र र समाजको सेवामा अग्रसर हुन सबैमा दायित्वको भावना जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img