निर्वाचनकेन्द्रीय जिम्मेवारी र क्षेत्रीय अपेक्षा बीच बर्तौलाको पुनः परीक्षा

केन्द्रीय जिम्मेवारी र क्षेत्रीय अपेक्षा बीच बर्तौलाको पुनः परीक्षा

हेटौँडा | पहिलो कार्यकालमै संसद्‌को नेतृत्व तहसम्म पुगेका नेकपा एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौला मकवानपुर–२ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्य बन्ने प्रयासमा छन्। २०७९ सालको निर्वाचनबाट संसद् प्रवेश गरेका बर्तौला सचेतक, मुख्य सचेतक हुँदै सरकारका प्रमुख सचेतकसम्मको भूमिकामा पुगे। संघीय संसद्‌भित्र विधायन र व्यवस्थापनमा अनुभव बटुलेका उनी यसपटक त्यो अनुभवलाई क्षेत्रका मुद्दासँग जोडेर ‘डेलिभरी’ दिन सक्ने क्षमता प्रमाणित गर्ने दबाबमा देखिन्छन्।

४३ वर्षीय बर्तौला विद्यार्थी राजनीतिबाटै हुर्किएका नेता हुन्। कालिका माध्यमिक विद्यालय, नामटारमा अध्ययनरत रहँदा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बनेर सक्रिय राजनीतिमा प्रवेश गरेका उनी मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिसम्म पुग्दै राष्ट्रिय विद्यार्थी नेतृत्वमा स्थापित भए। त्यसपछि पार्टी संगठनभित्र क्रमशः जिम्मेवारी बढाउँदै केन्द्रीय नेतृत्वसम्म उक्लिएका बर्तौला एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि केन्द्रीय सदस्य थिए। अहिले एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यका रूपमा उनी पार्टीको निर्णय प्रक्रियामा प्रभावशाली भूमिकामा छन्।

संसद्‌मा उनको प्रोफाइल बलियो देखिन्छ। कानुन, न्याय तथा मानव अधिकार समिति र प्रतिनिधिसभा–राष्ट्रिय सभा संयुक्त समितिमा रहेर उनले विधायन र संसदीय निगरानीमा सक्रियता देखाए। व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा एलएलबी उत्तीर्ण बर्तौला नीति र कानुन निर्माण प्रक्रियामा दख्खल राख्ने नेताका रूपमा चिनिन्छन्। संयुक्त राष्ट्रसंघको महासभा, अन्तर–संसदीय संघ र बेलायतको संसदीय अध्ययन भ्रमणसहितका अन्तर्राष्ट्रिय अनुभवले उनको राजनीतिक क्षितिज फराकिलो बनाएको पार्टीभित्रको बुझाइ छ।

तर यही केन्द्रीय जिम्मेवारी नै उनको स्थानीय राजनीतिमा चुनौती बनेको छ। क्षेत्रका मतदाताले ‘सांसद् काठमाडौंमै सीमित भयो’ भन्ने गुनासो गर्ने गरेका छन्। प्रमुख जिम्मेवारीका कारण स्थानीय तहमा पर्याप्त समय नदिएको आलोचना उनीमाथि लाग्दै आएको छ। परम्परागत पार्टी पृष्ठभूमिका कारण नयाँ पुस्ता र वैकल्पिक राजनीति खोज्ने मतदातालाई आकर्षित गर्नुपर्ने दबाब पनि बढेको छ।

२०७९ सालको निर्वाचनमा उनले मकवानपुर–२ बाट एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। यसपटक पनि प्रतिस्पर्धा कडा देखिन्छ। पहिलो कार्यकालमा सिकेका पाठ र संसद्‌भित्रको अनुभवलाई ‘स्थानीय डेलिभरी’ मा बदल्ने क्षमताले नै उनको पुनः निर्वाचित हुने सम्भावना तय गर्ने देखिन्छ। केन्द्रीय राजनीतिमा प्रभावशाली भूमिकाबाट क्षेत्रीय अपेक्षा पूरा गर्ने कठिन परीक्षा बर्तौलाको सामु छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img