हेटौँडा। पालिकाको नवौँ स्थापना दिवसको अवसर पारेर मकवानपुरको कैलाश गाउँपालिकामा निर्माण गरिएको ‘बीपी स्मृति कैलाश आधारभूत अस्पताल’ उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उक्त अस्पतालको उद्घाटन गरेका हुन्।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अस्पतालका लागि २०७८ जेठ २७ गते आशिष–आर्शिवाद–स्वामी नारायण जेभीसँग निर्माण सम्झौता गरिएको थियो भने भवन २०८२ असारमा निर्माण सम्पन्न भएको हो।
अढाई तल्ले भवनमा निर्माण गरिएको अस्पतालमा १० शैयाको सुविधा रहेको छ। अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी व्यवस्था गरिएको छ। जसमा ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिस्ट, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी रहने व्यवस्था गरिएको छ।
तर हालसम्म भने अस्पतालमा स्वास्थ्य चौकीको दरबन्दी मात्रै कार्यान्वयनमा रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिए।
अस्पतालमा इमरजेन्सी सेवा, स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे तथा इसिजी लगायतका सेवा उपलब्ध हुने जनाइएको छ।
२१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकाम हेटौँडाबाट करिब ४५ किलोमिटर टाढा पर्छ। जिल्लाकै दुर्गम पालिकामध्ये एक मानिने कैलाशमा स्वास्थ्य सेवा अभावका कारण स्थानीयवासी उपचारका लागि हेटौँडा वा मनहरी बजारसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो।
अब स्थानीयस्तरमै अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवामा सहज पहुँच बढ्ने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।
अस्पताल सञ्चालन भएपछि कैलाश गाउँपालिकाका १० वटै वडा साथै राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ९ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले जानकारी दिए।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्र घिसिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा अस्पतालका जग्गादाता तथा भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान समेत गरिएको थियो।



