सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले उनलाई बलात्कारपछि हत्या गरिएको निष्कर्ष निकालेको हो।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।
मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
प्रहरीका अनुसार फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका १६ वर्षीय किशोर र इनिसाबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। पूर्व सहमतिअनुसार फागुन २३ गते बिहान शहीद पार्क घुम्न जाने क्रममा उनीहरू पार्क नजिकैको जंगलतर्फ गएको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा जबरजस्ती करणीपछि पीडितको संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन जना चिकित्सक तथा भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले तयार पारेको हो। बुधबार सार्वजनिक भएको रिपोर्टमा संवेदनशील अंग च्यातिँदा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यका अनुसार जबरजस्ती करणीका क्रममा पीडितको संवेदनशील अंग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।
घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै देशभर आवाज उठ्न थालेको छ। बुधबार दिनभर पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए। विभिन्न अधिकारवादी संस्थाहरूले पनि घटनामा गम्भीर चासो देखाउँदै निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन्।
यसैबीच संघीय राजधानी काठमाडौंको माइतीघरमा पनि दलित समुदायमाथि हिंसा बढेको भन्दै प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, दलितमाथि हुने हिंसा रोक लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पीडित इनिसा विकको घरमै पुगेर परिवारसँग भेट गरेका छन्। उनले घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका छन्।
“पीडित परिवारलाई न्याय दिलाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध छ, घटनाको सत्य तथ्य बाहिर ल्याई कानुन अनुसार दोषीलाई कारबाही गरिनेछ,” मुख्यमन्त्री कँडेलले भने।



