हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले स्वदेशमै उत्पादन बढाउने नीति र सरकारी घोषणाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।
उप्रेतीले केही समयअघि गृहमन्त्रीले नेपाल प्रहरीका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको स्मरण गराउँदै उक्त प्रतिबद्धता कार्यान्वयन गर्न हेटौँडा कपडा उद्योग उपयुक्त आधार बन्न सक्ने बताए। “नेपाल प्रहरीको पोशाक स्वदेशमै सिलाउने भनिएको छ, त्यसका लागि हेटौँडा कपडा उद्योग सरकारको निर्णय पर्खेर बसेको छ,” उनले भने, “सरकारले अब ढिलाइ नगरी सञ्चालनतर्फ ठोस कदम चाल्नुपर्छ।”
उनले लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू पुनर्जीवित गर्ने कार्यको सुरुआत हेटौँडा कपडा उद्योगबाट गर्नुपर्ने धारणा पनि राखे। उद्योग सञ्चालनमा आएमा स्थानीय रोजगारी सृजना, औद्योगिक उत्पादनमा वृद्धि तथा आयात प्रतिस्थापनमा टेवा पुग्ने उनको भनाइ थियो।
उप्रेतीले सरकारलाई नीतिगत स्पष्टता, लगानी सुनिश्चितता र व्यवस्थापन सुधारमार्फत उद्योग पुनः सञ्चालनको ठोस कार्ययोजना ल्याउन आग्रह गर्दै स्वदेशी उद्योगप्रति देखिने प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।



