मकवानपुर | वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत वृन्दावन वनस्पति उद्यान परिसरमा ‘नक्षत्र वाटिका’ स्थापना गरिएको छ। वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७औं वनस्पति दिवसको अवसर पारेर उक्त वाटिका स्थापना गरिएको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख हेमराज पौडेलले जानकारी दिए ।
धार्मिक अवधारणामा आधारित यस वाटिकामा २७ नक्षत्रसँग सम्बन्धित वनस्पति प्रजातिहरूलाई वृत्ताकार ढाँचामा नक्सांकन गरी रोपिएको प्रमुख पौडेलले बताए । उनका अनुसार परम्परागत मान्यता अनुसार उत्तराषाढामा कटहर, श्रवणामा आँक, धनिष्ठामा शमी, शतभिषामा कदम, पूर्वभाद्रपदमा आँप, उत्तरभाद्रपदमा नीम, रेवतीमा महुवा, अश्विनीमा कुचिला, भरणीमा अमला, कृतिका मा डुम्री, रोहिणीमा जामुन, मृगशिरामा खयर, आद्रामा सिसौ र पुनर्वसुमामा बाँस रोपिएको छ।
यस्तै, पुष्यमा पिपल, अश्लेषामा नागेश्वर, मघामा बर, पूर्वफाल्गुणीमा पलाश, उत्तरफाल्गुणीमा काभ्रो, हस्तामा रिठा, चित्रामा बेल, स्वातीमा अर्जुन, विशाखामा कंकेरो, अनुराधामा बकुल, ज्येष्ठामा सिमल, मूलमा राजवृक्ष र पूर्वाषाढामा वेत प्रजातिहरू समावेश गरिएको उनले जानकारी दिए ।
केन्द्रका प्रमुख हेमराज पौडेलका अनुसार विशाखा नक्षत्रसँग सम्बन्धित कंकेरो बाहेक अधिकांश वनस्पति नेपालमै उपलब्ध भएकाले क्रमशः सबै प्रजाति संकलन गरी व्यवस्थित रूपमा रोप्ने योजना छ। उनले वैदिक सनातन संस्कृति र प्रकृतिबीचको सम्बन्धलाई जोड्दै यस्ता प्रयासले वातावरण सन्तुलनमा सहयोग पुग्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक डा. बलराम भट्टले जनसहभागितामा आधारित यस्ता कार्यक्रमले वन, वनस्पति र वातावरणको महत्व जनस्तरमा बुझाउन सहयोग पुग्ने उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए।



