देशबागमती प्रदेशमकवानपुरमा अवैध उत्खनन् नियन्त्रण : मजदुरमाथि कडाइ, ठूला संरचना भने अछुतै

मकवानपुरमा अवैध उत्खनन् नियन्त्रण : मजदुरमाथि कडाइ, ठूला संरचना भने अछुतै

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो दुई दिनमा हेटौंडाको राप्ती खोला तथा विभिन्न खहरे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा ३७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मजदुर र केही ट्याक्टर चालक रहेका छन् भने उत्खनन् कार्यमा प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारेर कारबाही अघि बढाइएको हो। “अवैध रूपमा उत्खनन् गर्ने सबैलाई कानुनी दायरामा ल्याइन्छ,” उनले भने, “पक्राउ परेकामाथि मुद्दा चलाइनेछ, दबाब दिने बिचौलियालाई पनि छुट दिइँदैन।”

तर, यस कारबाहीले स्थानीय तहमा प्रश्न पनि उठाएको छ। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरमाथि मात्र कडाइ गरिएको, तर ठूला स्तरमा भइरहेको मापदण्ड विपरीत उत्खनन् र क्रसर उद्योगमाथि भने प्रभावकारी कारबाही नभएको गुनासो बढ्दो छ।

मकवानपुरगढी, मनहरी, राक्सिराङ र बकैया गाउँपालिकाका खोलाहरूमा व्यापक उत्खनन् भइरहेको स्थानीयको भनाइ छ। कतिपय स्थानमा नदीको प्राकृतिक स्वरूप नै बिग्रिएको छ भने हेटौंडास्थित राप्ती खोला र सामरी खोला अत्यधिक उत्खनन्का कारण धमिलो बन्न पुगेका छन्।

स्थानीय तहकै स्वीकृतिमा सञ्चालन भएका उत्खनन् कार्यमा समेत मापदण्ड उल्लंघन भइरहेको आरोप छ। एक्साभेटर प्रयोग गरी गरिने उत्खनन्ले नदीको सतह घटाउने, पानी धमिलो बनाउने र वातावरणीय सन्तुलन बिगार्ने समस्या बढाएको स्थानीय बताउँछन्।

यता, अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू भने निरन्तर चलिरहेका छन्। हेटौँडा उपमहानगरपालिका लगायत विभिन्न पालिकामा रहेका यस्ता उद्योगहरूमा खोलाबाट निकालिएका पदार्थ पुग्ने गरेको भए पनि अनुगमन र कारबाही प्रभावकारी देखिएको छैन।

प्रहरी उपरीक्षक खत्रीले भने स्थानीय तहको स्वीकृतिमा कानुनी रूपमा सञ्चालन भएका उत्खनन् कार्यमा प्रहरीले हस्तक्षेप गर्न नमिल्ने बताए। “वैधानिक रूपमा अनुमति प्राप्त उत्खनन् कार्यमा हामीले कारबाही गर्न सक्दैनौं,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img