समाजसाना सञ्चारमाध्यमका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग गर्दै जिरी घोषणापत्र...
spot_img

साना सञ्चारमाध्यमका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग गर्दै जिरी घोषणापत्र जारी

जिरी |  साना सञ्चारमाध्यमका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न पत्रकार महासंघ बागमती प्रदेशको माग
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको हित र प्रवद्र्धनका लागि पूर्ण समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । यस्तै महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

महासंघ प्रदेशका अध्यक्ष कृष्णसारु मगरको अध्यक्षतामा दोलखाको जिरीमा चैत २७ र २८ गते सम्पन्न प्रदेश समिति, जिल्ला अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार संगठनका प्रतिनिधिहरूको बैठकपछि जारी गरिएको ‘जिरी घोषणा पत्र’मा सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले थालेका प्रयासको स्वागत समेत गरिएको छ ।

महासंघले सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको विकृतिको निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ । साथै स्थानीय तहबाट प्रवाह गरिने सूचना तथा जनचेतनामूलक सन्देशहरू स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ । महासंघले प्रदेश सरकारका निकायमा दर्ता भएका सञ्चारमाध्यमसम्बन्धी विद्यमान अन्योलता अन्त्य गर्न प्रदेश र संघीय सरकारबीच समन्वय गरी तत्काल समाधान गर्नुपर्ने उल्लेख गरेको छ ।

घोषणापत्र मार्फत बागमती प्रदेश सरकारलाई सञ्चार रजिस्ट्रार कार्यालय कायम राख्न आग्रह गरिएको छ । यसैगरी घोषणापत्रमा जोखिमपूर्ण रिपोर्टिङका क्रममा व्यक्तिगत सुरक्षामा ध्यान दिँदै बदलिँदो समय र जनअपेक्षाअनुसार व्यावसायिक, जिम्मेवार र स्वतन्त्र पत्रकारिताको उच्चतम अभ्यास गर्न सम्पूर्ण सञ्चारकर्मीहरूलाई अपिल पनि गरिएको छ ।

महासंघ आम श्रमजीवी पत्रकारहरूको अभिभावक तथा संरक्षक बन्नुपर्ने भए पनि पछिल्ला घटनाक्रमले त्यो भूमिका प्रभावकारी रूपमा पुष्टि गर्न नसकेको उल्लेख गर्दै महासंघको गरिमा उकास्ने विषयमा देखिएको अन्योलताले प्रदेश, जिल्ला तथा श्रमजीवी पत्रकारमा नकारात्मक असर परेको भन्दै केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण समेत गराइएको छ ।

घोषणापत्रमा जलवायु परिवर्तनबाट प्रभावित महिला, दलित, गरिब तथा सीमान्तकृत समुदायको आवाजलाई समाचारको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने आदिवासी जनजाति तथा स्थानीय समुदायले पुस्तौँदेखि प्रयोग गर्दै आएको ‘रैथाने ज्ञान’लाई वैज्ञानिक रूपमा अभिलेखीकरण गरी नीति निर्माण तहसम्म पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

बैठकले पर्यटकीय नगरी जिरी तथा आसपासका महत्वपूर्ण प्राकृतिक सम्पदामा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि तीनै तहका सरकारसँग आवश्यक पहल गर्न आग्रह गरेको छ । अध्यक्ष सारुले जिरीमै सञ्चारकर्मीका लागि जलवायु परिवर्तनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img