चितवन | भदौ २२ गते चितवन सरुवा भएर आएका इन्द्रदेव अर्यालको मनमा एउटा जिल्ला शान्त र सुरक्षित राख्ने अठोट थियो। तर औपचारिक रूपमा कार्यभार सम्हाल्न नपाउँदै भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले भरतपुरलाई अस्थिर बनायो। उनी जिल्लामा खुट्टा टेक्दै गर्दा सरकारी संरचना र निजी सम्पत्तिमा आगजनी भइरहेको दृश्यको साक्षी बन्नुपर्यो।
भदौ २४ गते भरतपुरको व्यापारिक केन्द्रमा रहेको भाटभटेनी सुपर स्टोर पनि आगजनीको निशानामा पर्यो। सुरक्षाकर्मी, दमकल र सर्वसाधारण भागदौडमा रहेको बेला जिल्ला प्रशासन प्रमुखको हैसियतले अर्यालले अवस्था सम्हाल्ने प्रयास गरे पनि आगो रोक्न भने सकेनन्। केही घण्टामै करोडौँको क्षति भयो।
देशभरका ३३ शाखामध्ये जेनजी आन्दोलनका क्रममा १२ वटा भाटभटेनी स्टोर जलेर पूर्ण रूपमा नष्ट भएका थिए। तीमध्ये भरतपुरको शाखा पनि एक हो। आगलागीपछि बन्द भएको उक्त स्टोर सात महिना तीन दिनपछि पुनः सञ्चालनमा आएको छ।
पुनः सञ्चालनको अवसरमा आयोजना गरिएको कार्यक्रममा भाटभटेनी व्यवस्थापनले चितवनका प्रमुख जिल्ला अधिकारी अर्याललाई समेत निमन्त्रणा गरेको थियो। तर उनले उपस्थित हुन अस्वीकार गर्दै विनोद भण्डारीमार्फत एउटा भावुक सन्देश पठाए।
उनले लेखेको सन्देशमा आफूले कार्यकालको सुरुआतमै भाटभटेनी जोगाउन नसकेको उल्लेख गर्दै उद्घाटन समारोहमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने बताएका छन्। उनले सन्देशमा भनेका छन्, “भाइ, निम्ताका लागि धेरै धन्यवाद। तर मेरो विवेकले भनिरहेको छ, आफ्नो जिम्मेवारीमा हुँदा भाटभटेनी बचाउन सकिनँ। अहिले तपाईंहरू उठ्नुभयो, खुसीको पलको साक्षी बन्ने नैतिक हक मसित छैन।”
अर्यालले पछि कुराकानीमा पनि त्यो दिनको घटनाले आफूलाई अझै झस्काइरहने बताएका छन्। जिल्लाको अवस्था बुझ्न नपाउँदै आगजनी र तोडफोडको दृश्य देख्नुपर्दा मनमा गहिरो ग्लानी बसेको उनको भनाइ छ। आफूले सुरक्षाको जिम्मेवारी सम्हालेको बेला त्यति ठूलो क्षति हुनुले मन भारी बनाएको उनले स्वीकारे।



