नेपालमा सडक दुर्घटनाको घटना उच्च छ। वर्षेनी हजारौंको संख्यामा मानवीय क्षति हुनुका साथै ठूलो परिमाणमा भौतिक क्षति पनि हुने गरेको छ। यसलाई न्यूनीकरण गर्न सबै पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ।
हामीमा ट्राफिक प्रहरी मात्र जिम्मेवार छन् भन्ने धारणा रहिआएको छ। ट्राफिक नियमको पालना पनि उनीहरूको उपस्थितिमा मात्रै हुने गरेको छ। यसले सडकमा अनुशासन कायम गर्न समस्या भएको छ। तर, सडक दुर्घटना एउटा पक्षमात्रको कारणले हुँदैन। यसमा धेरै कारक जोडिएका हुन्छन्– सडकको अवस्था, सवारी साधनको चाप, चालक तथा यात्रुको मानसिकता, सरकारी निकायको भूमिका सबैको प्रभाव पर्छ। विश्वमा मृत्युको कारणमा सडक दुर्घटना आठौं स्थानमा पर्ने गरेको छ। यसबाट समग्रमा समाजमा नकारात्मक असर परिरहेको हुन्छ।
त्यसैले सबैबाट सचेतना जरुरी छ। राज्यले सडक विस्तार र गुणस्तर सुधारमा ध्यान दिनुपर्छ। साथै चालक, यात्रु लगायत सर्वसाधारणमा पनि आफ्नो जिम्मेवारीप्रति सचेत हुनु जरुरी छ। चालकहरूले गाडी चलाउँदा तोकिएको गतिमा, मर्यादित तरिकाले र सुरक्षा सावधानी अपनाउनुपर्छ। यात्रुहरूले पनि सिट बेल्ट लगाउनु अनिवार्य छ। शारीरिक रूपमा अशक्त एवं बालबालिकालाई सडकमा एक्लै छाड्नु हुँदैन। पैदलयात्रीले पनि आफ्नो सुरक्षातर्फ ध्यान दिनु अत्यावश्यक छ। राज्य पनि सडक विस्तार, नियम कार्यान्वयनमा कडा हुनुका साथै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
यसरी सरोकारवाला सबै पक्षबाट भूमिका निर्वाह गर्दा मात्र सडक दुर्घटना न्यूनीकरण सम्भव हुन सक्छ।



