Friday, May 16, 2025
हेडलाईनजेठ १५ सम्म कुलेखानी-सिस्नेरी सडक सञ्चालनमा आउने
spot_img

जेठ १५ सम्म कुलेखानी-सिस्नेरी सडक सञ्चालनमा आउने

बागमती प्रदेशको अनुगमन: मन्त्री मास्केद्वारा समयमै काम सम्पन्न गर्न निर्देशन, ४२ प्रतिशत पुनर्निर्माणको काम सकियो

spot_img

हेटौँडा | असोजको विनाशकारी वर्षाले बगाएको हेटौंडा-काठमाडौं छोटो दूरीको कुलेखानी-सिस्नेरी-छैमले सडकको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको छ। आइतबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले उक्त सडकखण्डको तीन विपद्ग्रस्त क्षेत्रहरूमा भइरहेको पुनर्निर्माणको स्थलगत अनुगमन गरे।

निर्माण कम्पनी सिधुली दाहाल जेबीका आधिकारिक प्रतिनिधि ऋषिराज पोखरेलका अनुसार चैत्र ६ गते सम्झौता भएको ठेक्कामा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भइसकेको छ। “बैशाखसम्ममा टोटल ग्याबिङको काम सकिने र जेठ १५ सम्ममा उक्त सडकबाट गाडी कुदाउने योजनासहित काम अगाडि बढाइरहेको छ,” पोखरेलले अनुगमनका क्रममा जानकारी दिए।

anugaman scaled
अनुगमनको क्रममा लिइएको तस्वीर ।

काठमाडौं दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नविन सिंह र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका प्रमुख देवनारायण यादव लगायत अधिकारीहरू अनुगमनमा सहभागी थिए।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा र कुलेखानी जलाशयको पानी निकासका कारण सिमखोला, सिस्नेरी बजार र ज्यामिरे खण्डमा गरी करिब एक किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो। स्तरोन्नतिसहित उद्घाटनको अन्तिम चरणमा रहेको सडकमा वर्षाले क्षति पुर्‍याउँदा प्रदेश सरकारलाई २० करोड रुपैयाँको नोक्सानी भएको सचिव श्रेष्ठले जानकारी दिए।

विपद्पछि करिब एक साता हेटौंडा-काठमाडौं सम्पर्क विच्छेद भएको थियो। तत्कालका लागि सिस्नेरी खोलाको बगरबाटै अस्थायी मार्गको व्यवस्था गरिएको थियो।

अनुगमनका क्रममा मन्त्री मास्केले सिस्नेरी-दक्षिणकाली सडक खण्डको सलेन डाँडा, छैमले लगायतका क्षेत्रमा सडक निर्माणमा देखिएका अवरोध तथा समस्याबारे जानकारी लिए। त्यसक्रममा उनले स्थानीय वासिन्दा, जनप्रतिनिधि र सरोकारवालाहरूसँग समेत छलफल गरे।

“कुनै पनि ठेकेदारले नागरिकलाई हैरानी हुने गरी काममा ढिलासुस्ती गर्न पाइने छैन,” मन्त्रीले अनुगमनका क्रममा चेतावनी दिए। “आलटाल गरेर समय लम्ब्याउने काम भएमा मन्त्रालयले कडा कारबाही गर्नेछ।”

हाल सिस्नेरी र ज्यामिरे खण्डमा प्लम्प वाल र मेसिनरी वाल निर्माण भइरहेको छ भने सिमखोलामा बेलीब्रिज राख्ने काम अघि बढाइएको छ। सचिव श्रेष्ठका अनुसार पहिलो चरणमा ग्राभेल सडकबाट यातायात सुचारु गर्ने र त्यसपछि मात्र स्तरोन्नति गर्ने योजना रहेको छ।

दक्षिणकाली नगरपालिकाका मेयर बस्नेतले केही स्थानमा स्थानीयहरूबाट सडक निर्माणमा भएको अवरोध हटाउन र सहज वातावरण तयार गर्न आफूहरू तयार रहेको बताए। “सडक निर्माणमा देखिएका समस्या समाधानका लागि सबै पक्षबीच स्पष्ट छलफल आवश्यक छ,” उनले भने।

प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत् सञ्चालित यस पुनर्निर्माण कार्यले हेटौंडा-काठमाडौंबीचको यात्रा समय उल्लेख्य रूपमा घटाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यो सडक सञ्चालनमा आएपछि हेटौंडा-काठमाडौं यात्रा अवधि झण्डै आधाले घट्ने विश्वास गरिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img