काठमाडौं | विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरू र सुरक्षाकर्मीबीच आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ।
बिजुलीबजारबाट प्रदर्शनसहित नयाँ बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि स्थिति तनावग्रस्त भएको हो। प्रहरीले निषेधित क्षेत्र उल्लंघन गर्न नदिन पानीको फोहोरा प्रयोग गरेको थियो, जवाफमा केही प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।
नेपाल शिक्षक महासंघका अनुसार, झडपका क्रममा ५० भन्दा बढी शिक्षकहरू घाइते भएका छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको महासंघले जनाएको छ।
यसैबीच, आन्दोलनको समाचार संकलनका लागि घटनास्थलमा पुगेकी पत्रकार सविना कार्की पनि घाइते भएकी छन्। पानीको फोहोरा लाग्दा कार्कीको आँखामा चोट लागेको र उनलाई अस्पतालमा उपचारका लागि लगिएको जानकारी प्राप्त भएको छ।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग गर्दै २६ दिनदेखि आन्दोलन जारी राखिरहेको छ। महासंघले आन्दोलनमा बाहिरी हस्तक्षेप भएको दाबी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।