सारांश
हेटौँडा | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशका नागरिकलाई चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न आह्वान गरेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले नदीहरूमा बहाव बढ्दै खतरा तह नजिक पुग्ने सम्भावना औंल्याएपछि प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सम्भावित जोखिमलाई न्यूनिकरण गर्न नागरिकले घरदेखि टाढा र विशेषगरी रातिको समयमा यात्रा नगर्नुपर्नेछ। बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा स–साना नदीमा समेत आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले जोखिमयुक्त बस्तीमा बस्ने नागरिकलाई सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक परेमा तुरुन्तै त्यहाँ स्थानान्तरण हुन अनुरोध गरेको छ। साथै, जिल्ला विपद् व्यवस्थापन समितिहरूले बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोकलगाउने निर्णय लिन सक्ने भएकाले सो निर्णय पालना गर्न समेत आग्रह गरिएको छ।
तीनै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई प्रतिकार्यमा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, जोखिमयुक्त सडक र राजमार्गमा तत्काल परिचालन गर्न सक्ने गरी डोजर, एक्साभेटर र अन्य उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।
प्राधिकरणले सहयोगी साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहँदै पूर्वतयारी र प्रतिकार्यका लागि सतर्क रहन अनुरोध गरेको छ।



