Tuesday, December 3, 2024
राशिफलबार्षिक राशिफलकस्तो रहला वर्ष २०८१? हेर्नुहोस् वार्षिक राशिफल

कस्तो रहला वर्ष २०८१? हेर्नुहोस् वार्षिक राशिफल

ज्योतिषीय ग्रहगोचरहरूको विश्लेषणअनुसार, राशिअनुसार मानिसहरूको जीवनमा यस वर्ष उतार-चढावपूर्ण अवस्थाहरू आउने देखिन्छ। केहीलाई शैक्षिक क्षेत्र, व्यापार-व्यवसाय र जागिरमा सफलता मिल्ने छ भने केहीलाई आर्थिक विषमता, मानसिक तनाव र पारिवारिक विवादहरूको सामना गर्नुपर्नेछ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पनि असरहरू देखिन्छन्। कतिपय राशिहरूका लागि सन्तानपक्ष र शैक्षिक क्षेत्रमा अवरोध उत्पन्न हुने र कुनै नराम्रा घटनाहरू पनि आउन सक्ने देखिन्छ। यद्यपि, सावधानी र संयम अपनाए यी चुनौतीहरूलाई छिचोल्न सकिन्छ। जप, पूजा, धार्मिक कार्य र हनुमानजीको आराधना गरेर शान्ति र सफलता प्राप्त गर्न सकिन्छ। गरिएका प्रयासहरू सफल हुनेछन्। परिवारजनहरूसँग अनुकूल सम्बन्ध कायम गर्नु महत्त्वपूर्ण छ। नयाँ व्यवसाय शुरू नगरी खुसी रहनु उपयुक्त हुन्छ। आत्मविश्वासका साथ सन्तुलित बाटो अपनाउनु जरुरी छ जसले उचित फल पाउन सहयोग गर्नेछ।

मेष राशि (चु चे चो ला लि लु ले लो अ)
तपाईँका ग्रह सामान्यतया राम्रा छन् । शुरुवाती समयमा लग्नको बृहस्पति केही अनुकूल हुने हुनाले शैक्षिक क्षेत्रमा केही सफलता मिल्ला तर केही मानसिक तनाव पनि देला । कुम्भ राशिमा रहेको एकादश शनिले अनेक माध्यमबाट आर्थिक लाभ दिनेछ साथै आम्दानी गर्ने विविध माध्याम देखापर्नेछन्। स्थिर सम्पत्तिमा पनि निकै वृद्धि होला तर आर्थिक लेनदेनमा विवाद पर्न सक्ला आश्विनसम्म प्रथम राहु र सातौँ केतु त्यति सहयोगी छैनन् । व्यर्थको विवाद र झमेला उत्पन्न हुन सक्ने हुनाले सावधानी अपेक्षित छ । आफ्नो मातापिताको वा दाम्पत्यमा स्वास्थ्य बाधा तथा बैचारिक मतभेदहरु उत्पन्न हुन सक्ला कार्तिकबाट भने स्थितिमा सुधार आउला । परिवारजनको सुखमा पनि केही वृद्धि होला । विद्यार्थी वर्गले विशेष परिश्रम गर्नुपर्ला कृषक र जागिरे वर्ग प्रायः सन्तोष रहलान् । जागिरमा पदोन्नतिको अवशर पनि देखिन्छ ।

वृष राशि (इ उ ए ओ वा वि वू वे वो )
तपाईंका ग्रहस्थिति साधारणतया मध्यम जस्ता छन् । गुरु द्वादश हुने हुँदा व्यवहारिक झमेला, आर्थिक विषमता, मानसिक तनाव तथा व्यर्थको यात्रा होला । गुप्त शत्रुबाट हानि हुन सक्ला । शनि केही अनुकूल रहेको हुनाले सामाजिक र राजकीय कार्यमा सफलता मिल्ला । न्यायालय सम्बन्धी विवादमा विजय मिल्ला । सावधानीपूर्वक गरेका सबै कार्य सफल होलान् । नविन सम्पत्ति खरिद गर्ने योग बन्न सक्ला बाह्रौँ राहु केही अपव्ययकारक हुन सक्ला । व्यर्थको खर्चबाट जोगिनुपर्ला तर छैठौँ केतु सुखदाता र सहयोगी होला । दाम्पत्य र पारिवारिक जीवन सुखद रहला । समाजमा मान प्रतिष्ठा बढ्ला । जागिरमा पदोन्नति होला । व्यवसाय कारोबारीहरुलाई आंशिक लाभ पाइने देखिन्छ । माघ फागुन महिनामा धार्मिक काम वा मङ्गल कार्यको पनि सम्भावना रहला साथै तिर्थाटनको पनि योग देखिन्छ ।

मिथुन राशि (क कि कु घ ङ छ के को ह)
तपाईंका ग्रह गोचर राम्रा नै छन् । एकादश गुरु भएकोले शुरुवाती महिनामा आयआर्जनमा सहयोगी सिद्धहोला पछि अप्रत्याशीत रुपमा शुभ कार्यमा वा भ्रमणमा धन खर्च होला । परिवारमा केही उत्साहजनक वातावरण रहला । जग्गा जमिन र बाहनको व्यवसायमा पनि राम्रै लाभको स्थिति देखिन्छ । कुनै नयाँ व्यवसाय वा सम्बन्ध प्रारम्भ हुने साथै अचल सम्पत्ति जोडिने पनि देखिन्छ । एकादश राहु पनि अनेकौं स्रोतबाट प्रशस्त आम्दानी गराउन प्रतिबद्ध देखिन्छ । व्यवसायी सेयर कारोबारीहरुलाई पर्याप्त लाभको अवसर पाइने देखिन्छ । पञ्चम केतुका कारण विद्यामार्गमा अवरोध होला । सन्तान पक्षमा पनि समस्या उत्पन्न हुनसक्ने देखिन्छ । विद्यार्र्थी वर्गले विशेष परिश्रम गर्नुपर्ने देखिन्छ । कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद पर्न सक्ने हुनाले आफै जोगिनु राम्रो होला । स्वगृही नवम शनि भाग्योदयको कारण बन्न सक्ला धार्मिक कार्यमा भने अवरोध रहला ।

कर्कट राशि (हि हु हे हो डा डी डु डे डो)
तपाईंका ग्रह त्यति राम्रा छैनन् । आठौं शनि अथवा अढैया शनिको प्रभावले कामकार्यमा बिलम्बता, दुःख परेशानी आइपन, परिवारमा पनि विवाद परिरहने, जागिरमा नसोचेको स्थानान्तरण, कुनै मुद्दा मामिला आइलाग्ने साथै आफ्नै इष्टमित्रबाट धोका पाइने हुनसक्छ । शेयर कारोबारमा आंशिक लाभ देखिन्छ अतः यता पनि जोखिम नलिनु नै राम्रो होला । आफ्नो व्यवसाय र राज्यकार्यमा केही सन्तोष होला । वर्षको आरम्भमा केतु चौथो र राहु दशौँ छन् जसले गर्दा कलह र वादविवाद हुन सक्ने हुनाले व्यर्थ विवादबाट स्वयं नै टाढिनु उचित छ । चौथो केतुले यदाकदा आकस्मिक लाभ पनि दिन सक्ला । असोज मसान्तपछि राहु केतुको राशि परिवर्तनले केही राहत देला तर कुनै ऋण लिनु दिनुबाट जोगिनु उचित रहनेछ ।

सिंह राशि (मा मि मु मे मो टा टि टु टे)
तपाईंका ग्रह स्थिति साधारणतया राम्रा छन् । गुरु नवौँ रहने हुनाले धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको यात्रा सफल हुनेछ । भाग्योदय, पुत्र कलत्रादिबाट हुने सुख सुविधा तथा मित्रबन्धुहरूको सहयोग आदिबाट पनि सन्तोष हुनेछ । वैदेशिक व्यापार र श्रम दुवै क्षेत्रमा लाभ मिल्ला । मानसिक प्रसन्नताले सबै कार्य सहज रुपमा सम्पन्न होलन। नवौ राहु भने धार्मिक कृत्यमा केही बाधाकारक हुन सक्ला । शेयर बजारबाट टाढै बसेको राम्रो छ । असोजपछि हुने राहु केतुको राशि परिवर्तनले केही कष्टकारक स्थिति उत्पन्न हुने देखिन्छ । सातौं शनिले गर्दा आफ्नो वा श्रीमतिको शारीरिक स्वास्थ्यमा केही समस्या साथै पारिवारिक अशान्ति पनि होला । सम्बन्धमा पनि केही नकारात्मकताले गर्दा मतभेद बढ्नसक्ने देखिन्छ अतः ध्यान दिनु जरुरी छ । व्यापारी तथा नोकरी पेशावालाहरु पनि खुसी नै रहलान् । स्वव्यवसायमा अत्याधिक संयम र सावधानी अपेक्षित छ । त्यसबाट राम्रै लाभ होला ।

कन्या राशि (टो प पी पु ष ण ठ पे पो)
तपाईंका ग्रह गोचर मध्यम जस्ता छन् । शुरुवाती समयमा गुरु अष्टम रहेको हुनाले अध्ययन अध्यापनका क्षेत्रमा अवरोध उत्पन्न होला तर गोप्य खोज र अनुसन्धानमा ध्यान केन्द्रित होला । मन अशान्त रहला । पारिवारिक मतभेद, व्यर्थ विवाद, अत्यन्त संयमित व्यवहार र शान्तिको अपेक्षा छ । छैठौँ शनि रोग तथा शत्रु नाश गर्ने होला तर नशा सम्बन्धी समस्या र छाला सम्बन्धी समस्या बल्झाईदिन सक्ला । कुनै पुरानो विवाद आफ्नो पक्षमा रहला । न्यायिक क्षेत्रमा पनि केही सुधार वा अनुकूल लक्षण देखिएर केही नयाँ व्यवसायको सम्भावना पनि देखिन्छ । शेयर कारोबार तथा शुभ व्यवसायमा पनि केही लाभ देखिएला । कुनै नबिन सम्पत्ति आर्जन पनि होला । विद्यार्थी वर्गको परिश्रम सफल होला । असोजपछि राहु सातौँ हुने हुनाले दाम्पत्य विवाद हुन सक्छ मनमुटाव सिर्जना हुन सक्छ संयम रहनुपर्ने देखिन्छ । पहिलो केतु स्वास्थ्य बाधाको कारक सिद्ध होला । सन्तुलित व्यवहारले सामाजिक र धार्मिक क्षेत्रमा आंशिक यस प्राप्त होला ।

तुला राशि (रा री रु रे रो ता ती तू ते)
तपाईंका ग्रह मध्यम छन्।् । आठौँ गुरु मानसिक चिन्ताको कारण बन्ला । स्वजन तथा भाइबन्धुमा मतभेद हुने हुनाले मन उद्विघ्न होला भने खोज तथा अनुसन्धानमा विशेष रुचि रहला । व्यर्थ यात्राले धन र समयको हानि पनि हुने देखिन्छ । बाणीको उचित र संयमित उपयोगले मात्र केही लाभ मिल्ला । दाम्पत्य जीवन केही राम्रो रहला । परस्परको विचार विनिमयद्वारा गरिएका कामहरू अवश्य सफल होला । पञ्चम शनि अध्ययन अध्यापन र सन्तान पक्षमा केही व्यवधान कारक होला । छैठौँ राहु रोग र शत्रुनाशक भई सुखकारक रहला । आकस्मिक धनलाभ पनि गराउला । शेयर कारोबारबाट पनि केही लाभ आर्जन गर्न सकिएला । विद्यार्र्थीहरुले उचित प्रतिफलका लागि विशेष परिश्रम गर्नुपर्ला अन्यथा रोकावट आउने देखिन्छ । व्यापारी वर्गले हानीबाट जोगिन निकै सावधान हुनुपर्ला । श्रावण र पौष महिना आंशिक सफल देखिन्छ ।

वृश्चिक राशि (तो ना नि नु ने नो या यी यु)
तपाईंका ग्रहगोचर सामान्य नै छन् । चौथो अथवा अढैया शनिको प्रभावले मानसिक तनाव, मिथ्यापवाद, कामकार्यमा बिलम्बता, दुःख परेशानी आइपर्ने, शारीरिक कष्टले पनि अत्यन्त सताउने आदि हुन सक्छ । दैनिक जीवनका क्रियाकलापमा अस्तव्यस्तता, चिन्ता, त्रास आदिको सामना गर्नुपर्ला । साझेदारीको व्यवसायमा वादविवाद आइपर्ला । कष्टप्रद यात्राको योग पनि देखिन्छ । सप्तम बृहस्पति सुखद दाम्पत्य जीवन कारक रहला । परस्परको विचार विनिमयद्वारा गरिएका कामहरू अवश्य सफल होलान् । राहु पाँचौं हुने हुनाले सन्तान र अध्ययन अध्यापनको क्षेत्रमा भने अनेक व्यवधान उत्पन्न गराउन सक्ला । सोचे अनुरुप गरेका कार्यमा नतिजा नमिल्ला । एकादश केतु केही सहयोगी र लाभकारी होला । वैदेशिक कार्यमा सफलता पाइएला । तुलनात्मक रुपमा भाद्र,आश्विन र माघ महिना शुभ छन् ।

धनु राशि (ये यो भा भी भु धा फा ढा भे)
तपाईंका ग्रहगोचर सामान्य देखिन्छन् । गुरु रोग शोक कारक हुन सक्ला । व्यर्थ चिन्ताले मन विचलित रहला । वाणीको उचित र संयमित उपयोगले भने केही लाभ मिल्ला । रोकिएका कामहरु सम्पन्न होलान् । तेस्रो शनिले भने पराक्रममा वृद्धि गराउला । भौतिक सुख सुविधाको वातावरण बन्ला साथै व्यापारमा सफलता र सामाजिक प्रतिष्ठा पनि दिलाउला । विद्यार्थी वर्गलाई पनि निकै सफलता देला । आत्मबल वृद्धि होला । राहु चौथो र केतु दशम छन्। फलतः आफ्नो कामप्रति आलस्य र स्वजनमा मतभेद उत्पन्न हुन सक्ला । मानसिक तनाव, मिथ्यापवाद, कामकार्यमा बिलम्बता, पुत्र कलत्रादिबाट असन्तोष, चौपायाबाट हानी नोक्सानी, दुःख परेशानी आइपर्ने हुनाले आत्मसयम अपेक्षित छ । तुलनात्मक रुपमा श्रावण भाद्र र फाल्गुन महिना राम्रा छन् ।

मकर राशि (भो जा जी खि खु खे खो गा गी)
तपाईंका ग्रहस्थिति सामान्य छन्।् । शनिको अन्त्य साढेसाती दशा हुनाले त्यति राम्रो समय देखिँदैन । पशु चौपायाबाट हानि नोक्सानी, झुटा आरोप, विना कामको यात्रा, अनावश्यक खर्च, शत्रु सामना, आफ्नो व्यवसायबाट नोक्सानी, आफ्ना नजिकका व्यक्तिले नै धोका दिने आदि अवान्छित कार्यको सामना गर्नुपर्ने देखिन्छ । बाहन दुर्घटनाको पनि सम्भावना हुनाले सावधान हुनुपर्ला र विपत्तिमा कसैको पनि सहयोग नपाउने आदि हुन सक्छ संयमित रहनुपर्ने देखिन्छ । अनुकूल समयको प्रतिक्षा गरी शनिको जप पूजा आदि गर्नु नै उत्तम रहला । पाँचौं बृहस्पतिले भने केही लाभ, बौद्धिक उन्नति, शैक्षिक प्रगति, सन्तान पक्षबाट सन्तोषजनक स्थिति रहला । राहु तेस्रो हुनाले केही आत्मविश्वास प्राप्त होला तर कुनै नविन योजनामा हात नराख्नु नै जाति होला । नवौँ केतु धार्मिक क्षेत्रमा बाधक रहला । पाप बुद्धि पलाउने देखिन्छ । आत्मसंयम आवश्यक छ । अन्य महिनामा भन्दा कार्तिक,मङ्सिर र चैत्र महिना शुभ छन्।् ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो द)
तपाईंका ग्रहगोचर मध्यम छन्।् । संघर्षको स्थिति होला । शनिको मध्य साढे साती दशा हुनाले त्यति राम्रो समय देखिँदैन । पुत्र कलत्रादिबाट असन्तोष, हानि नोक्सानी, नगरेका कामको आरोप, व्यर्थगमन, व्यर्थ धन नाश, शत्रु सामना गर्नुपर्ने देखिन्छ । अनावश्यक डर त्रासले मनमा भयको प्रकोप आदि अवान्छित स्थितिको सामना गर्नुपर्ला । हनुमानजीको आराधना गर्नाले शान्ति प्राप्त होला । चौथो गुरु पनि त्यति अनुकूल छैन। स्वास्थ्य बाधा, व्यर्थ विवाद र पारिवारिक झमेला आइपर्ला । गरिरहेका व्यवसायका साथै घरजग्गा आदिको काममा भने केही सफलता मिल्नसक्ने देखिन्छ त्यसैले आत्मसन्तोष पनि दिनेछ । जागिर र व्यापार मध्यम न्याय र वैदेशिक मामला आंशिक सफल रहला । सहकर्र्मीबाट तनाव हुन सक्ला अतः सामन्जस्य मिलाउनु उचित होला । तुलनात्मक रुपमा वैशाख मङ्सिर र पौष महिना सफल हुने देखिन्छ।

मीन राशि (दी दु थ झ ञ दे दो चा ची)
तपाईंका ग्रहगोचर सामान्य छन्।् । शनिको आध्य साढेसाती दशा हुनाले मानसिक अशान्ति, कामकार्यमा अरुचि, कृषि तथा पशु चौपायाबाट हानि, बाहन दुर्घटना, यस आत्मबल इच्छाशक्ति मान प्रतिष्ठामा कमी, अनावश्यक खचर्, स्वजनको सहयोग र सद्भावमा पनि कमी आउला । भित्र कतै अनिष्टको भएले मनमा विचलन र उद्विग्नता रहला । गुप्त शत्रु क्रियाशील हुनाले सदैव कुनै अवाञ्चित स्थितिको अवस्था रहला । तेस्रो गुरु पनि त्यति राम्रो छैन । श्रमिक वैतनिक तथा व्यावसायिक मार्ग केही सफल र न्याय तथा वैदेशिक क्षेत्रमा आंशिक फल दिने रहला । अनुकूल समयको प्रतिक्षा गरी शनिको जप पूजा आदि गर्नु नै उत्तम रहला । श्रद्धापूर्वक हनुमानजीको पूजा आराधनाले शान्ति र सफलता प्राप्त होला । जेष्ठ,पौष र माघ महिना केही राम्रा हुने देखिन्छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img