साहित्य'आमाको जन्मदिन'

‘आमाको जन्मदिन’

  • अशेष अधिकारी

भुवनको घाँटी खस खस गरिरहेको छ । सायद उसले त्यो पान खाएको कारणले गर्दा हुनसक्छ । त्यो चोक देखि तलतिरको पान पसल उसको वान एण्ड ओन्ली मन पर्ने पान पसल हो । पान पनि कति धेरै खाएको हो कुन्नी कहिल्यै खान नपाए जस्तो । आज उसले एकै चोटीमा तीन वटा पान खान्छ । अरु बेला त्यही चोकको बाटो हुँदै उसका साथी विनोद र पवन पनि उ सँगै चोक घुम्न भनेर आउँथे । उनीहरु चोक तिर घुम्न आउने फेबरेट समय चाहीँ घाम अस्ताउन लागेको बेला हो । उनीहरु छुट्टीको समयले गर्दा स्कुलको पढाई नहुने भएकाले दीन भरी टीभी सीरीज हेरेर दिन काट्छन् । भुवनले नै उसका साथीहरुलाई पान खुवाउँथ्यो । धनी बुवाको एक्लो छोरो न पर्यो । जब घाम अस्ताउन लाग्छ अनी उनीहरुको उदाउने समय हुन्छ । घामसँग खुबै लुकाछीपी खेल्ने गर्छन् । भुवनले पान खाएको घाँटीबाट फोहोर खकार थु गरेर चोकको नजिकै रहेको खोलाबाट तल थुकिदिन्छ । त्यो खकार कहिले तल पानीमा खस्छ भनेर एकोहोरो त्यो खकारलाई हेरिरहन्छ । आज उसका साथि विनोद र पवन उसको साथमा छैनन् । आज भुवन एक्लो छ, यो भरिभराउ चोकमा । छायाँ भएको बेला उसको छायाँ उसको साथि हुने थियो होला तर उसको छायाँ पनि उ सँग छैन ।

अहिले भुवनलाई आस्चर्य लागिरहेको छ कीनकी उ सँधै घरमा विहान बेलुका खाना खान्छ । बिहान बेलुका खाना नखाई आखिर को नै पो बाँच्छ र ? कहिले काहिँ ब्रत लिनु अर्कै कुरा भयो । के उसले कहिल्यै ब्रत लिन्छ होला र ? यो कुरामा सङ्कै छ । ब्रतको कुरा गर्दा उसले बिहान बेलुका नै कोक खाएर त्यो पुरा एक दिन नै सर्भाइभ गरेको थियो रे । तर उसले त्यो कुरा ढाँटेको थियो किनकी उसले कोक सँगै बफ मःमः पनि खाएको थियो रे भन्ने कुरा खुलासा हुन गएको छ । ब्रतको कुरा गर्दा उसको गर्ल फ्रेण्ड सँग ब्रेक अप भएको बेला उ ‘वान वल डे’ नै मौन ब्रत चाहीँ बसेकै हो रे । तर उसको साथी विनोद र पवनको अनुसार अहिले सम्म उसको कुनै गर्ल फ्रेन्ड थिएन र आज सम्म छैन भन्ने खुलासा भएको छ । त्यो भए गर्ल फ्रेन्ड चाहीँ को ? सायद उसको इमाजीनरी गर्ल फ्रेन्ड हुनुपर्छ, जो सँग उ एक्लै एक्लै कुरा गरीरहन्छ । विशेष गरी तब जब उ ऐनामा आफुलाई हेरिरहेको हुन्छ । त्यसो भए उसको गर्लफ्रेन्ड उ स्वयं हो त ? होइन होला किनकी कहिल्यै कहिँ अधिराज्यमा आफ्नो आँफै सँग बे्रकअप भएको खबर सुनीएको छैन । फेरी उ गर्ल पनि न हैन नि । कहिले काहीँ आँफुदेखि आँफु रिसाउनु त छँदै छ । उसलाई आस्चर्य लागि रहेको छ किनकी आज उसले चोकको तरकारी पसलहरुलाई नियाली रहेको छ । थरी थरीका मानिस थरी थरीका भेसमा छन् । कोही पैदल नै आएका छन्, कोही साइकल बाएक त कोही हेलीकप्टरमा त्यहाँ आएका छन् । आखिर किन ? बिहान बेलुकाको छाक टार्न सब्जी कीन्न । हेलीकप्टरको प्रसङ्ग चाहीँ किन निस्कियो भने चोकको एकदम सेन्टरमा पर्ने घरको डल्ले भाईलाई उसका बुबा आमाले खेलौना किनीदिएका छन् । टोय स्टोरमा गएर एक घण्टा सम्म टोयहरुमा आँखा कुदाउँदा पनि उसलाई त्यो हेलिकप्टर भन्दा बाहिरको कुरामा आँखा गए त मरि नै जाउँ । अहिले आएर उसलाई त्यो हेलिकप्टर मन पर्न छाडेको छ । त्यसैले उ आज भोली त्यही हेलिकप्टर माथि चढ्न खोज्दै, त्यसै माथि चढ्छ, तै पनि भाँचीए त मरि जाउँ, कति बलियो हो । भुवन विचार गर्छ “यति धेरै मानिसको भिँडमा कहिले काहीँ उसका आमा बुबा पनि मीसीने गरेका छन् त ?” आस्चर्य छ, आँफुले ल्याप्टपमा सीरीज हेरीरहेको बेला थपक्कन आफ्नो छेउमा उसकी आमाले राखिदिएको खानामा बोनसमा आएको भात सँगैको तरकारी कसरी घर सम्म आएर किचनको आगो सँग साक्षात्कार हुन्छ ? उसलाई आज आएर लाग्छ यो सब्जी किनेर घर सम्म लाने काम त मैले नै गरेको भए नि अर्थ फ्लाट छ भन्ने फिलोसोफी सर्वमान्य हुने थिएन होला नि ।

हिजोको दिन मात्र हो भुवनले उसका साथि विनोद र पवनलाई क्याफेमा लिएर जान्छु भनेर सान्त्वना दिएको तर बोल्नेको बोली बीकेनछ । उसको कुरा नपत्याएर उसका साथीहरुले नै उसलाई फ्रेन्ड जोनबाट गेट आउट गरिदिएछन् जस्तो छ । उ आज लोन्ली भएर हीँडीरहेको छ । कम्तिमा उ सँग पवनको जस्तो ‘पेट’ यानीकी ‘बेल्ली’, उसको कुकुर जस्तै उ सँग नी पाल्तु कुकुर भएको भए बिसेक हुने थियो । अब अर्को चोटी जन्मदिनमा चाहीँ उ गीफ्टमा बुबालाई एउटा कुकुरको प्रस्ताव राख्नेछु भन्ने अठोट गर्छ । त्यसो हुने भए त उ एक्लो पनि हुने थिएन नि । आज उसका साथि विनोद र पवन नआएको नै ठीक भएछ किनकी चोकको भोक मेटाउने लोग भएको रोज रोजको कफि सप आज रफ एण्ड टफ भएको छ किनकी आज त्यो कफि सप बन्द छ । अब अर्को दिन त्यो खुल्दा पक्कै पनि त्यहाँ दुई गुणा बढि ग्राहकको लर्को लाग्नेछ । त्यो लर्कोलाई लर्को बनाउन अर्को दिन उ र उसको साथिको योगदानको बारेमा भुवनले मस्तिस्कमा सजिव चित्र बनाउँदैछ ।

भलै चोकमा धेरै मानिसको भीँड होस् तर भुवनको घर जाने बाटो सुनसान छ । उसको घर पुग्न सानो जंगलको बाटो पार गर्नुपर्ने । मेरो मतलब सानो जंगल किनकी बिनोदकी आमाले आफ्नो दुई बीघा खेतको डिल डिलमा रुख रोपेकी थिईन्, त्यस्तै पाँच वर्ष अगाडी । अहिले ती रुख ठूला भई सकेका छन् । भुवनहरुको भासामा भन्नुपर्दा त्यो जंगल नै हो । त्यो जंगलमा बाँदरहरु छैनन् तर बाँदरको माग पुरा गर्न त्यो गाउँका केटाकेटी रुख चढेर ‘चतुरेको चर्तिकला’ देखाउँछन् । ती केटाकेटी रुखमाथि चढेर रुखलाई नै गाडी सम्झन्छन्, त्यही रुखलाई घरी हेलिकप्टर सम्झन्छन् । विचरा ! त्यो रुखले के के बन्नुपर्ने ती केटाकेटीको लागि । त्यही हेलिकप्टर भन्ठानेको, अनि गाडी भन्ठानेको रुख भएको तथाकथित जंगलको बाटो हुँदै उ आफ्नो कोठामा प्रवेश गर्छ । अव्यवस्थित अवस्थामा रहेको त्यो कोठा पनि उसकै प्रतिक्षामा रहेजस्तो देखिन्थ्यो ।

चोकको बाटोमा यति धेरै सवारी गुड्छन् कि गुड्नलाई अरु कुनै स्पेस नै रहँदैन । उनीहरु त्यो चोकको बाटोमा हिँडेको भन्दा पनि ज्यान जोगाएको भन्न रुचाउँछन् । घरको कोठामा आएर कोठाको तस्विर तिर फर्किएर आजको दिन पनि चोकको बाटोमा सर्भाइभ भएकोमा नमस्कार गरेर ढोग्ने चलन छ । उनीहरुको त्यो तस्विर भगवानको तस्विर हुन्छ । दीनको एक दुई वटा त्यो बाटोमा दुर्घटना नभएको त दिन नै हुँदैन । दैनिक दुर्घटनामा सेलेक्टीभली परेका केहि मानिसहरुमा उनिहरु नपर्नुमा यो दैवको के दोस ? यहाँ दैवको अर्थ ती सवारी साधन हुन जान्छन् किनकी कुन काल खण्डमा कसको सरीरले आत्मालाई अल्विदा त्यो स्वयं ती सवारी साधनकै हातमा हुन्छ जसलाई ध्यान भङ्ग भएको चालकको दीएको अनुमतिले ट्रीगर गर्ने गर्छ ।
भुवन र पवन चाहीँ अलिक डरपोक छन् । डरपोक भन्नु भन्दा पनि सतर्क भन्दा चाहीँ ठीक हुन्छ किनकी डरपोक त ती हुन् जो कक्रोच कोठामा हिँड्दा पनि आफ्नी आमालाई बालाउँछन् । तर यहाँ त सवाल ज्यानको छ अनि ज्यानको माया कसलाई पो लाग्दैन र ? तर विनोदलाई चाहिँ लाग्दैन रहेछ । उ यसरी प्रत्येक दिन चोकको बाटो हिँड्दा ज्यान बच्नुलाई ‘सर्भाइभ गरेकोमा धन्य हुनु’ सँग तुलना नगरेर यसलाई ‘रोमाञ्चकारी अनुभुती’ भन्ठान्छ । अस्तिको दिन त हो नि विनोद त्यही चोकको बाटो साइकल कुदाउँदा सीटी सफारीको ढोकामा ठोकिएर दुई बल्ड्याङ भएको । उसका साथिहरु उसको ज्यानको लागि कति चिन्तित थिए । तर त्यो दि भरी उ नै अरु भन्दा बढी बीन्दास देखिन्थ्यो । उसको भाषामा भन्नुपर्दा उ भन्थ्यो “आजको जस्तो रोमाञ्चकारी अनुभुती यो जीवनमा विरलै दोहोरीएला ।” एक जना साथिले खिसी गर्दै भन्यो “अनि ती मोडीफाई गरेको बाएक कुदाउनेहरु नि ?” ठीकै भो विनोदले बाएक नसिकेको भन्ने उसको साथिहरुको धारणा थियो ।

कोठामा भएको भुवन जसलाई चारै वटा भीत्तामा टाँसीएका बलीवुड फिलिमका हिरोले हेरीरहेका थिए, उसको मोवाइलमा घण्टी सहीत एउटा नोटीफीकेसन फड्फडाउन थाल्छ । उसलाई लाग्यो की सयमा सय यो घण्टीलाई पनि सीमवालाको मेसेजले ट्रीगर गरेको हुनुपर्छ । उसले झण्डैले त्यो घण्टीलाई बेवास्ता गरेको । तर यो पटकको घण्टी अर्को ढङ्गले बजिरहेको छ । उसले मोवाइलको स्क्रिनमा चियाउँछ । ओहो ! ढिलो भई सकेछ । आज त उसकी आमाको जन्मदिन रहेछ । उसको आँखा अगाडी बिहान देखि घटेका सम्पूर्ण घटनाहरु कुनै नेपाली मूभीको दृष्य झैँ एकाएक नाच्न थाल्छन् । आज आमाको जन्मदिन फेरी आज कै दिन उसले आफ्नी आमालाई आफ्नो सरफमा भिजाएर राखेको लुगा धुन लगाउनु परेको । फेरी आज कै दिन आफ्नी आमालाई उसले घरमा कुखुराको मासु पकाउन लगाएको । उसकी आमाले पनि खाए त ठिकै हो तर उसकी आमा परिन् फुल भेज, अनि त्यो मासु पनि आमालाई नै लिन पठाएको । फेरी आमा सँग आज कै दिन हजार रुपैयाँ किच किच गरेर, झगडा गरेर नै मागेको । वर्षमा सबैभन्दा बढि आमालाई दुःख दिएको दिन पनि सायद आजै होला । फेरी जन्मदिन पनि आजै । अब ‘कल्पनाको संसारमा म त डुबीसकेँ’ भन्दै पस्चाताप गर्नु सिवाय उ सँग अर्को चारा नै बाँकी छैन । फेरी जन्मदिन भोली पल्ट मनाउँला भनेर मनको वेदनालाई थमाउन पनि मिलेन नी ।

प्रेमी प्रेमीकाको संवादमा ‘म तिम्रो लागि मरिदिन पनि सक्छु’ भन्ने वाक्य एकदमै प्रख्यात छ । तर जो जीउँदो भएर पनि मरेपनि हुन्छ भन्ने अवस्थामा हुन्छन् उनिहरुको लागि चाहीँ सबैभन्दा कीम्ती वाक्य ‘म तिम्रो लागि नमरीदीन पनि सक्छु’ भन्ने हुँदो रहेछ । एउटा आमा र छोरा बिचको संवाद एक प्रेमी र प्रेमीकाको संवाद भन्दा अलग हुँदो रहेछ । एक पटक कुरै कुरामा भुवनले आफ्नी आमालाई साधेको थियो । “आमा तिमी मेरो कति माया गर्छौ ?” उनको जवाफले उ स्तब्ध भएको थियो । उनकी आमाले भनेकी थिइन् “तिम्रो लागि म नमरिकन बाँच्न सक्छु किनकी मेरो बाँच्नुको आधार नै केवल तिमी नै हौ ।” वास्तवमा आफ्ना आमा बुवाले अन्त्यमा बाँच्ने कुनै आधार नभेटे पनि आफ्नो छोरा छोरीको लागि आफ्ना इच्छा तिलाञ्जली दिएर बाँची रहेका हुँदा रहेछन् ।

हरेक छोरा छोरीलाई जन्म दिने आमा जिवीत देवी कै अवतार हुन्छन् भनिन्छ र यो सत्य पनि रहेछ किनकी भुवनकी आमा उसका लागि जीवीत देवी नै थिइन् तर यो कुरा भुवनले अझै बुझ्न सकेको थिएन । उसले आफ्नी आमालाई विभिन्न रुपहरुमा देख्यो । पैसा नदिएको बेला लोभी, रीसाएको बेला छुच्ची जस्ता उपनामहरुले उसकी आमालाई औँल्याउने गर्दथ्यो । उसलाई उसकी आमा उसको लागि देवी नै हुन् भन्ने कुरा पनि उसलाई अरुकी आमाहरुले सम्झाउनु पर्दथ्यो । तर यो कुरा आफ्नै छोराछोरीलाई सम्झाउन नसक्नेले कसरी अरुका छोराछोरीलाई सम्झाउन । सायद एकले अर्कोको छोराछोरीलाई सम्झाउन चाहीँ आफ्नो छोराछोरीलाई सम्झाउनु भन्दा सजिलो हुँदो रहेछ ।

अब साँझ पनि पर्न लागेको थियो । आज आमाको जन्मदिन पनि त छ । जन्मदिनको दिन राती केक ल्याएर जन्मदिन मनाउने चलन त रहि नै आएको छ । तर के आमाको जन्मदिन मनाउन आमाले नै दिएको पकेट पनि खर्च गर्नु ? यो त अलिक जायज भएन । उसले सोच्यो की “आमाको जन्मदिन मनाउन अन्य कतै तिर बाट कसरी पैसाको जोहो गर्ने ?” कतैबाट साथिहरु सँग पैसा मागौँ भने पनि पछि पैसा तिर्न त्यहि आमाले दिएको पकेट मनि प्रयोग गर्नुपर्ने । बुवाले त पैसा दियो भने छोरा बीग्रन्छ भनेर अहिले सम्म कहिल्यै पैसा दिएका छैनन् । आमाले पनि खुसुक्क बुवाले थाहा नपाउने गरि आफ्नो छोरालाई पैसा दिने गरेकी छिन् । भुवनको एक मनले यो कुरा पनि भन्छ कि “आमाको जन्मदिन कै लागि भनेर बुवालाई पैसा त भईहाल्यो नि ।” तर उसको अर्को मनले भन्छ “अहँ हुँदैन, आमा बुवा दुवैको मध्ये एकको पैसाले जन्मदिन मनाउँदा पनि आमाको मुहारमा कदापी छाउने छैन ।” आज विहान देखि उसले आमालाई धेरै दुःख दिएको थियो । पैसा माग्दा झगडा पनि परेको थियो । आमाको मन टुटीसकेको थियो । लामो समयको विचार पछि भुवनले आफ्नी आमालाई आफुले अन्जानमा गरेको गल्तिको लागि क्षमा माग्नु नै उसकी आमाको लागि बेस्ट गीफ्ट हुने रहेछ भन्ने कुरा मनन गर्छ । भुवनले आफ्नी आमालाई त्यो साँझ आँफुले अन्जानमा आफ्नी आमालाई दुःख दिएको र यसमा आँफु एकदम लज्जीत भएको कुरा सुनाउँछ । यो कुरा सुन्दा भुवनकी आमा यति खुसी हुन्छिन् कि उनले सीधा यो कुरा भुवनका बुवालाई गएर सुनाउछिन् । भुवनका बुवा भुवन सुध्रीएकै हो की सुध्रीए जस्तो मात्र गरेको भन्ने कुरामा अन्योल छन् । भुवनको बोली बिक्छ त्यसैले उसका बुवा आमा दुवै खुसी भए । त्यो साँझ केक पनि ल्याएर काटीयो । त्यो दिन हेप्पी इन्डीङ भएर नै बित्यो ।

त्यो दिन पस्चातका दिनहरु पहिला जस्तै नै थिए तर भुवनको परिवारको तर्फ फर्कीएर हेर्ने हो भने भुवन दिन प्रतिदिन सुध्रन थालेको थियो । उ पहिला जस्तो चुरोर र पान समेत खान छोडेको थियो । विनोद र पवन अलिक बिगार्ने वर्गका मान्छेमा पर्छन् भनेर होला, एउटै गाउँको छीमेकी भए पनि उ उनीहरु सँग हेलमेल गर्न छाड्यो । कहिले काहीँ बाटोमा हिँड्दै गर्दा उनिहरु सँग भेट भयो भने त बाध्यताले भए पनि उनिहरु सँग फ्रेन्ड जोनमा बस्नै पर्यो । नत्र भने उनिहरु भुवनलाई घर मै भेट्न आउँदा भुवन खाट मुनी लुक्थ्यो । विचराहरु भुवनलाई के भेटुन्, उ घर मै रहेनछ भन्ठानेर उनिहरु फर्कन्थे । एक चोटी उनीहरु भुवनको घरमा आएर कोठा भित्रै बिना कसैको अनुमति पसेका थिए । भुवन सुत्ने खाटमुनीबाट खन्द्राङको आवाज त आएकै हो नि । धन्नले उनिहरुले त्यो खाट तल आवाज निकाल्ने बिरालो नै हो भन्ने कुरा दावी गर्न खाट मुनी नहेरेका । नत्र उनिहरुको अड्डीले उसलाई डीप विथिन ट्राजेडी गराउने थियो ।

भुवनले आफ्नो आँखाको पर्दा उसले आँफैले समय र परिस्थितिको ट्रीगरले गर्दा खोलेको थियो । तर आमामा यस्तो भ्रम पैदा भएको थियो कि उनको कारणले गर्दा उनको छोराको आँखा खुलेको थियो । तर के गर्नु जन्मदिन त उनको नै थियो । उनको अनुपस्थितिमा भुवन सुध्रिने थिएन । भुवनकी आमाले भुवनको बुवा सँग खुसी हुँदै भन्न थालेकी छीन् “देख्नुभयो नि मेरो कारणले हाम्रो छोरो कत्रो सुध्रीयो ।” भुवनका बुवा यो सुनेर नपत्याए जस्तो मुख पार्दथे । उनी भन्थे “धेरै खुसी नहोउ, फेरी कुन दिन देखि बीग्रन थाल्छ ।”

बिग्रने सप्रने कुरा त यस्तै हो, त्यो दिन देखि भुवनकी आमाले भुवनलाई अझै धेरै पकेट मनि पनि दिन थालेकी छीन् । यदि भुवन बिग्रने भए उसलाई त्यो पैसाले बिग्रन छेलोफेलो हुन्छ । तर सप्रिएकै हो भने उसको सबै पैसा बचत गर्न थालेको हुनुपर्छ । के उसको पैसा कुनै खुत्रुकेमा जम्मा हुन थालेको छ ? या यति धेरै सुध्रीयो की त्यो पैसा च्यारीटीमा दिन थालेको छ र गोजीमा सुक्को रुपैयाँ छैन ? यदि भुवन फेरी बीग्रन थाल्ने हो भने उसको त्यति धेरै जम्मा गरेको पैसाले अझै स्तरीय तरिकाले बीग्रन सक्छ । खैर यो सबै उसको अस्तित्व चक्रको एउटा अंस हो जहाँ उ रुमलिरहेको छ, घरी बादल लागे जस्तो, घरी पानी परे जस्तो गरेर ।

केहि दिन पछि मुर्दा जलाउने ठाउँमा भुवनलाई विनोद र पवनले भेट्छन् । यत्रो दिन सम्म ‘न घरमा न घाटमा’ भने जस्तो घरमा नभेटीए पनि घाटमा चाहीँ उसलाई भेट्न लेखेको रहेछ । बिनोदले छक्क परेर सोध्छ “अहिले यति सानैमा कहाँबाट यहाँ आउने बुद्धि आएको ? आजकल तँ साह्रै बिग्रीएको छस् हाम्रो लागि, पहिला त हामीलाई खाजा खुवाउँथिस्, रैला पार्टी गराउँथिस् । तर आज भोली त खोई सबै कुरा मीस्टर गायब भए त, यसमा समय र परिस्थितिको कै गल्ति हो तेरो गल्ति होइन ।” यो कुरामा भुवन केहि पनि बोल्दैन बरु उनीहरुबाट कसरी तर्कीने हो भन्ने चाहीँ सोच्न थाल्छ । यत्तिकैमा दुई तिन जना मानिस जो हेर्दा पनि दुःखमा परे जस्तो देखिन्थे, उनीहरुको सामु आउँछन् । उनीहरुले आफ्नो दाजुलाई क्यान्सर भएको र उपचारका लागि पैसा उठाउँदै आएको कुरा बताउँछन् । यो कुरा सुन्दा भुवनले आँफुले बचाएको पकेट मनिको केहि अंस स्वरुप पाँच हजार रुपैयाँ उनीहरुलाई सहयोग गर्छ । विनोद र पवनले उसलाई सम्झाउने कोसीस गर्छन् कि “यीनीहरु ठग हुन्, आँफुले जम्मा गरेर राखेको पैसा नदिँदै राम्रो बरु हामीलाई यो पैसाको पाटी गरा न ! यीनीहरु भन्दा त हामी नै बढी गरीब दुःखी छौँ ।” तर उसले बिनोद र पवनको कुरा एक पनि सुन्दैन । उसले मानिस जलाइरहेको घाट तिर देखाउँदै भन्छ “जीवन एउटा चक्र हो, सबैको पाली आउँछ । यसरी अरुको सहयोग गर्यो भने सरीरले प्राण छाड्दा जीवन सार्थक बनाएर छाडीन्छ । मलाई जीवन सार्थक बनाउनु छ ना की निरर्थक ।”

विनोद र पवनको लागि भुवन त्यो भुवन रहेन जो सँग उनिहरुले जीवनको अमुल्य समय व्यतित गरेका थिए । अब त उ कुनै अपरिचित मानिस झैँ भएको थियो । उनिहरुको भाषामा भन्नुपर्दा भुवन अस्वस्थ भएको थियो । उनीहरुलाई यहि चिन्ताले दिन प्रतिदिन खाईरहेको थियो कि उसको विराम कहिले निको हुने हो र फेरी भुवन उनीहरुसँग घुलमील हुन थाल्ने हो । हरेक दिनले उनीहरुको टाउकामा ढ्याङ्ग्रो ठोकिरहन्छ । प्रत्येक दिन उनीहरु भुवनको घर हेर्छन् । उनीहरु अलग अलग स्कुल पढ्ने भएकाले स्कुलमा भेट हुने त कुरै भएन । उनीहरुले सुनेका छन् कि आजभोली भुवन पुजापाठ गर्न थालेको छ रे । तर यो कुरा कति सम्म सत्य हो त्यो थाहा छैन । के कोही मन्दिर, मस्जिद जाँदैमा सुध्रने र भट्टीमा पस्दैमा मात्र बिग्रने हुन्छन् र ? वास्तवमा भन्नुपर्दा प्राय निर्दोस मानिस भट्टीको सहारामा बाँचीरहेका हुन्छन् र दोसी मानिस मन्दिर, मस्जिद घुमीरहेका हुन्छन् । पाप गर्ने अनि पाप पखाल्न मन्दिर, मस्जिद धाउने ; फेरी पाप गर्ने यो अनौठो सर्कल रहेछ ।

एक दिन चाहीँ योजना अनुसार विनोद र पवनले भुवनलाई घरबाट घिसारेर बाहिर तान्छन् । उ पटक्कै उनिहरुको संगत गर्न चाहँदैन । भुवन चिच्याएर भन्छ “तिमीहरु सँग हिँड्नु भन्दा मलाई यहि धर्ति मुनी पुरीदेओ ।” आफ्ना पुराना साथि सँग हिँड्नु भन्दा आँफुलाई धर्ति मुनी नै पुरीनु ठीक लाग्ने भुवन साँच्चै आजभोली विपरीत ध्रुव तर्फ जाँदै थियो । भुवनका अनुसार उनीहरुले पनि उसलाई यदि बुझीदीने भए उ फेरी पनि त्यो पुराने फ्रेन्ड जोनमा फर्कीने छ । भुवनले विनोद तर्फ हेर्दै भन्छ “तैँले मलाई बुझीनस्, यदी मलाई बुझेको भए तँ यस्तो कुरा गर्ने नै थिइनस् ।” तातो ओछ्यानमा निदाइरहेको भुवनलाई यसरी तानेर घरबाट बाहीर निकाल्ने ती दुई दोसी साथिहरु पक्कै पनि बाँदरबाटै इभोलुसन भएको हुनु पर्छ , किनकी ‘यीनीको व्यवहार इज क्लोजली रीलेटेड टु ह्युमेन’ । कसैले सुतेको मान्छेलाई निन्द्रा खराब गरेर यसरी तान्ला र ?

भुवनले उसका साथिहरुलाई त्यागेर नविनतम बाटोमा केवल आफ्नो ‘ईको र स्याडो’ लाई मात्र साथमा राखेर एक्लो जंगलमा हिँडीरहेको हात्ति झैँ हिँड्नुमा सायद आफु बिग्रीन्छु भन्ने एक कारणमात्र नहुन सक्छ । यसको पछाडी अर्को खास कारण पनि हुन सक्छ । जस्तै अगाडी भनेझैँ उ धनि परिवार सँग आबद्ध भएको केटो हो अनि बिनोद र पवन गरीब परिवार सँग आबद्ध छन् । गरीबीको कारण नै बिग्रीएको परिवार हुनु हो भन्ने गलत धारणा हुन सक्छ । यदि मोटामोटी गरीबीको दश कारण छन् भने त्यसमा हामीले एक कारणमात्र हेरेर पनि हुँदैन किनकी बाँकी नौ वटा कारणले नर्थ दिसा तर्फ पोइन्ट गरेको हुन्छ । यदि सकिन्छ भने एकले अर्कालाई सुधार्ने प्रयत्न गर्नुपर्छ । अथवा हुन सक्छ उ साँच्चै आफ्नै बारेमा मात्र सोच्ने मतलबी फ्रेन्ड सर्कलमा उ छ र त्यहाँबाट उ बाहिर निस्कन चाहन्छ । भुवनलाई आफ्नो फ्रेन्ड सर्कललाई साँघुरो पारे जीवनमा केहि एचिभमेन्ड हुन्छ भन्ने भ्रम अथवा वास्तविकताको जालोमा उ परेको छ । तर सानै देखिको साथीहरुलाई यसरी चट्ट छोड्न कहाँ सकिन्छ र ? अथवा उनीहरुले भने झैँ अधिक आदर्शताले उसलाई निर्जीव बनाएको छ, जो कहिल्यै मर्ने छैन किनकी उ उनीहरुको लागि पहिल्यै मरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img