काठमाडौं | लागुऔषध कारोबारविरुद्ध प्रहरीको निरन्तर प्रयासले नियन्त्रणमा सकारात्मक परिणाम दिएको देखिन्छ । लागूऔषध कारोबारमा संलग्न २६ हजार ५ सय २६ जनालाई प्रहरीले पछिल्लो ५ वर्ष (आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्म)मा पक्राउ गरेको छ। जसमा २५ हजार २ सय ७८ पुरुष र १ हजार २ सय ४८ महिला रहेका छन्।
प्रदेशगत विवरणअनुसार, सबैभन्दा बढी बागमती प्रदेशबाट ६ हजार २ सय २५ जना र कम कर्णाली प्रदेशबाट ८ सय ६ जना पक्राउ परेका छन् । अन्य प्रदेशहरूमा पनि लागुऔषध कारोबारको उच्च संख्या देखिएको छ । मधेश प्रदेशबाट ५ हजार ५ सय ३७ जना, कोशी प्रदेशबाट ५ हजार २ जना, लुम्बिनी प्रदेशबाट ४ हजार ४ सय २ जना, सुदूरपश्चिम प्रदेशबाट २ हजार २ सय ६० जना, गण्डकी प्रदेशबाट २ हजार ४ सय ५४ जना जनालाई पक्राउ गरिएको छ ।
पछिल्लो ५ वर्षमा २५ हजार २ सय ७८ नेपाली पुरुष र १ हजार २ सय ४८ महिलागरी २६ हजार ५ सय २६ जना लागूऔषध कारोबारी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी, ८ सय ३४ भारतीय पुरुष र ३२ महिलागरी ८ सय ६६ जना भारतीयलाई समेत नियन्त्रणमा लिइएको छ भने ५८ विदेशी पुरुष र २२ जना महिला गरी जम्मा ८० जना विदेशीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
यसैबीच, प्रहरीले पछिल्लो ५ वर्षमा अफिम ४ सय २६ किलो, कोकिन ३४ किलो, गाँजा ५४ हजार ७ सय ११ किलो, चरेश ४ हजार ८ सय ८६ किलो र हेरोइन १ सय १५ किलो गरी जम्मा ६० हजार १ सय ७२ किलो लागूऔषध नियन्त्रणमा लिएर नष्ट गरेको छ।
बागमतीमा लागुऔषध कारोबारमा बढ्दो
नेपाल प्रहरीको तथ्याङ्कले बागमती प्रदेशमा लागुऔषध कारोबार उच्च रहेको देखाएको छ। प्रहरीका अनुसार पछिल्लो ५ वर्षमा बागमती प्रदेशमा लागुऔषध कारोबारमा संलग्न ६ हजार २ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसरी नियन्त्रणमा लिइएकामध्ये ६ हजार २ सय १२ जना नेपाली, १ सय ५३ जना भारतीय र ६० जना विदेशी नागरिक छन्। संलग्नहरूमध्ये ६ हजार ६ सय ६ जना पुरुष र ३ हजार ५ सय १९ जना महिला रहेका छन्।
बागमती प्रदेशको लागुऔषध कारोबार आर्थिक वर्षअनुसार हेर्दा क्रमिक वृद्धि देखिन्छ। २०७५/७६ मा १ हजार ६ सय ६१ जना, २०७६/७७ मा १ हजार १ सय ७ जना, २०७७/७८ मा ९ सय ५४ जना, २०७८/७९ मा १ हजार ३ सय ४९ जना र २०७९/८० मा १ हजार ३ सय ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लागुऔषध बरामदीतर्फ हेर्दा पनि बागमती प्रदेशमा उच्च संख्या देखिन्छ। पछिल्लो ५ वर्षमा यस प्रदेशबाट २८ हजार किलोभन्दा बढी विभिन्न लागुऔषध प्रहरीले नियन्त्रण गरी नष्ट गरेको छ। जसमा ७५ किलो अफिम, ३२ किलो कोकिन, ७० किलो हेरोइन, २ हजार ६ सय ४४ किलो चरेस र २५ हजार २ सय ६० किलो गाँजा रहेको छ।
आर्थिक वर्षगत विवरणअनुसार २०७५/७६ मा ९ हजार १ सय ६७ किलो, २०७६/७७ मा २ हजार ३ सय ७९ किलो, २०७७/७८ मा २ हजार ९ सय ६० किलो, २०७८/७९ मा ४ हजार ३ सय ६० किलो र २०७९/८० मा ९ हजार २ सय १५ किलो लागुऔषध नियन्त्रणमा लिइएको छ।
बागमती प्रदेशमा लागुऔषध कारोबारको उच्च संख्या देखिनुको मुख्य कारण काठमाडौं उपत्यका रहेको देखिन्छ। पछिल्लो ५ वर्षमा काठमाडौं उपत्यकाबाट मात्रै ३ हजार २ सय ८० जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकाबाहेकका १० जिल्लाबाट २ हजार ५ सय र लागुऔषध नियन्त्रण ब्युरोबाट ६ सय ४५ जनालाई पक्राउ गरिएको छ।
मधेश पनि बागमतीको नजिक नजिक
बागमती प्रदेश पछि बढी कारोबार हुने प्रदेश मधेश भएको तथ्याङ्कले सङ्केत गर्छ । मधेश प्रदेशमा पछिल्लो ५ वर्षमा धेरै लागूऔषध कारोबार र कारोबारबाट पक्राउ पर्नेको संख्या पनि बढ्दै गएको छ।
आर्थिक वर्ष २०७५/७६ मा मधेश प्रदेशबाट लागूऔषध कारोबार गर्ने ९ सय ८१ जनालाई पक्राउ गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमशः ९ सय ७० जना, ९ सय ९८ जना, १ हजार २ सय ८५ र १ हजार ३ सय ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा ५ हजार २ सय ४२ नेपाली, ९ सय ९२ भारतीय र ३ विदेशी रहेका छन्।
मधेशमा पछिल्लो ५ वर्षमा प्रहरीले १७ हजार ८ सय किलोभन्दा बढी लागूऔषध नियन्त्रणमा लिएर नष्ट गरेको छ। प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा २ हजार ६ सय २४ किलोभन्दा बढी लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमशः १ हजार ७ सय ६१ किलो, ३ हजार २ सय १३ किलो, ४ हजार ३ सय किलो र ५ हजार ९ सय २७ किलोभन्दा बढी लागूऔषध प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
यसरी नेपालका विभिन्न प्रदेशहरूबाट लागूऔषध कारोबारी र लागूऔषध नियन्त्रणमा आउने क्रम बढ्दै गएको देखिन्छ। लागूऔषध कारोबारलाई नियन्त्रण गर्न सरकार र निकायहरूले विशेष पहल गर्नुपर्ने देखिन्छ। तथ्याङ्कले अनुसार कारोबार बढेको देखिए पनि प्रहरीको सक्रियता समेत बढेको बुझ्न सकिन्छ ।