हेटौँडा | तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव नपर्ने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तिहारका विभिन्न दिनमा विशेषगरी देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। कतिपय स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिनअनुसार —
कार्तिक ३ गते (लक्ष्मी पूजा): देशका अधिकांश भागमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीसहित केही स्थानमा फाटफुट वर्षा हुनसक्नेछ।
कार्तिक ४ गते: यो दिन पनि पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना यथावत् रहनेछ, जबकि अन्य स्थानमा मौसम खुला रहने अपेक्षा गरिएको छ।
कार्तिक ५ गते (गोवर्धन पूजा): देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्य रूपमा सफा रहनेछ।
कार्तिक ६ गते (भाइटीका): भाइटीकाको दिन पनि पश्चिमी वायुको हल्का प्रभाव रहने भएकाले कोशी र मधेश प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुनसक्नेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि छ।
महाशाखाले तिहार अवधिभर नागरिकलाई मौसमी परिवर्तनबारे सचेत रहँदै अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।



