हेटौंडा | हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रूपमा घोषणा गरिएको छ। शनिवार एक समारोह बीच हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रूपमा घोषणा गरेइको हो ।
वडा अध्यक्ष विष्णु गोपाल महर्जनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका र घोषणा कार्यविधिले व्यवस्था गरेका ५१ वटा सूचकहरू र ५ वटा चरणका २८ वटा तहगत खुड्किलाहरू सफलतापूर्वक पार गरेको छ। यसमध्ये ४६ वटा सूचकहरूमा १०० प्रतिशत, ३ वटामा ९६ प्रतिशत, १ वटामा ९५ प्रतिशत र १ वटामा ९० प्रतिशत नतिजा हासिल गरिएको छ।
वडाको क्षेत्रफल २.३३ वर्ग किलोमिटर रहेको छ र यहाँको कुल जनसंख्या ८ हजार ९२५ रहेको छ, जसमध्ये १ हजार ८११ जना १८ वर्षमुनिका बालबालिका छन्। वडामा १ सामुदायिक र २ संस्थागत गरी जम्मा ३ वटा बालविकास केन्द्र सहितका विद्यालयहरू सञ्चालनमा रहेका छन्।
बालमैत्री अभियान अन्तर्गत वडामा १९ वटा बालसमूह र १ वडास्तरीय बालसमूह सञ्जाल गठन गरिएको छ, जसमा ४ सय ७५ जना बालबालिकाहरू आबद्ध छन्। विभिन्न संरचनागत समितिहरूमा १४ जना गरी जम्मा ४ सय ८९ जना बालबालिकाहरूको प्रत्यक्ष सहभागिता रहेको छ।
वडाले बालमैत्री स्थानीय शासन घोषणा पश्चात् दिगोपनाका लागि आर्थिक वर्ष २०८०/८१ देखि २०८४/८५ सम्मको पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि पारित गरेको छ।
समारोहमा नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। उनले बालमैत्री स्थानीय शासन अभियानको महत्व र यसको दिगोपनाको आवश्यकतामाथि जोड दिइन्।
यो घोषणासँगै हेटौंडा-२ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडाको रूपमा स्थापित भएको छ। यसले वडामा बालअधिकारको सुनिश्चितता र बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।