हेटौँडा | बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले तयार पारेका दुई पुस्तक उच्च शिक्षाका लागि आधिकारिक रूपमा लागू भएका छन्। सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार ‘डिजिटल साक्षरता’ र ‘साइबर सुरक्षा: अवधारणा र अभ्यास’ नामक पुस्तकहरू राज जनक विश्वविद्यालयद्वारा स्नातक तहका पाठ्यक्रममा समावेश गर्ने निर्णय भएको छ।
उनका अनुसार, सञ्चार रजिष्ट्रार कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा अनुसन्धान सामग्री तयार गरी डिजिटल साक्षरता पुस्तक प्रकाशित गरेको थियो, भने आर्थिक वर्ष २०७९/०८० मा ‘साइबर सुरक्षा: अवधारणा र अभ्यास’ पुस्तक तयार गरिएको थियो। यसअघि, २०७६/०७७ मा प्रकाशित ‘अनलाइन पत्रकारिता हाते पुस्तक’ त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल र उपप्राध्यापक डा. घमराज लुइटेलले यी पुस्तकहरू स्नातक तहका विद्यार्थीका लागि उपयुक्त भएको ठहर गर्दै सिफारिस गरेको आधारमा राज श्री जनक विश्वविद्यालयको प्राज्ञ परिषदले औपचारिक रूपमा ती पुस्तकहरूलाई पाठ्यक्रममा समावेश गर्ने निर्णय गरेको रजिष्ट्रार सापकोटाको दाबी छ ।
‘डिजिटल साक्षरता’ पुस्तकका लेखकहरू रविराज बराल, प्रमोद पोखरेल, अजयमणि पौडेल हुन्, भने ‘साइबर सुरक्षा: अवधारणा र अभ्यास’ पुस्तक निकेश चपाई, बाबुराम अर्याल, र रविरराज बराल ले तयार गरेका हुन्। सम्पादकको भूमिकामा प्रवेश सुवेदी रहेका थिए । उनीहरूको मेहनत र योगदानकै कारण यी पुस्तकहरू स्नातक तहको पाठ्यक्रममा समावेश हुने अवसर पाएको सञ्चार रजिष्ट्रार कार्यालयले जनाएको छ।
यसैबीच, सञ्चार रजिष्ट्रार कार्यालयबाट प्रकाशित अन्य पुस्तकहरू ‘उहिलेको पत्रकारिता’, ‘विधागत पत्रकारिता’, र ‘साइबर कानून र इन्टरनेट अपराध’ पनि स्नातकोत्तर तहका विद्यार्थीका लागि सन्दर्भ सामग्रीका रूपमा प्रयोग भइरहेको रजिष्ट्रार सापकोटाले जानकारी दिए।
अहिलेसम्म तीन वटा विश्वविद्यालयको सञ्चार रजिष्ट्रार कार्यालयले तयार गरी प्रकाशन गरेका पुस्तकलाई औपचारिक रुपमा पाठयक्रममा समावेश गरेका छन् ।