देशबागमती प्रदेशबागमती सरकारको बजेटमा सञ्चार क्षेत्र छुट्यो भन्दै १२ संघले चेतावनीसहित गराए ध्यानाकर्षण

बागमती सरकारको बजेटमा सञ्चार क्षेत्र छुट्यो भन्दै १२ संघले चेतावनीसहित गराए ध्यानाकर्षण

हेटौँडा | बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सञ्चार क्षेत्रलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै पत्रकार महासंघलगायत दर्जनभन्दा बढी सञ्चारसम्बद्ध संगठनहरूले एकसाथ आपत्ति जनाएका छन्। संयुक्त ध्यानाकर्षण पत्रमार्फत उनीहरूले सरकारको सञ्चारमैत्री बजेट प्रतिवद्धता ‘कागजमा सीमित’ भएको भन्दै व्यावहारिक बजेटले “सञ्चारको निषेध” गरेको गम्भीर आरोप लगाएका हुन्।

मुख्यमन्त्री बहादुर सिंह लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, र आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारको नीति, कार्ययोजना र भाषणमा सञ्चार क्षेत्रको समावेशिता देखिए पनि बजेटले त्यसको उल्टो व्यवहार गरेको उल्लेख छ।

मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष ध्यानाकर्षण पत्र बुझाउदै 

प्रस्तावित बजेटमा लोककल्याणकारी विज्ञापन शीर्षकमा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशत कटौती गरिएको उल्लेख गर्दै पत्रकारहरूले यसलाई लोकतन्त्रको चौथो अङ्गमाथिको सीधा प्रहार भनेका छन्। विज्ञापन प्रणालीलाई पारदर्शी बनाउन, सामाजिक सुरक्षा कोषमा पत्रकारको समावेश, तथा सञ्चार क्षेत्रका लागि आवश्यक कानुनी संरचना निर्माण गर्ने भनिएको प्रतिवद्धता बजेट दस्तावेजमा पूर्णतः अनुपस्थित रहेको उनीहरूको गुनासो छ।

“सरकारले आफैं संचारमैत्री बजेट ल्याउने आश्वासन दिइसकेको अवस्थामा सम्पूर्ण बजेट संरचनाबाट सञ्चार क्षेत्रलाई शून्य प्राथमिकतामा राख्नु गम्भीर उपेक्षा हो,” पत्रकारहरूको भनाइ छ। आन्तरिक मामिला मन्त्रालयले उल्लेखनीय बजेट तर्जुमा गर्न नसक्दा संचार माध्यमहरूको दिगोपनमाथि प्रश्न उठेको उनीहरूको टिप्पणी छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेसमक्ष ध्यानाकर्षण पत्र बुझाउदै 

संयुक्त पत्रमा प्रदेश सरकारलाई तत्काल बजेट संशोधन गरी सञ्चारमैत्री नीति कार्यान्वयन गर्न आग्रह गरिएको छ। साथै, विपक्षी दलहरूलाई पनि प्रदेशसभामार्फत सरकारमाथि दबाब दिन आह्वान गरिएको छ। ध्यानाकर्षण पत्रमा संचार क्षेत्रको उपेक्षा यथावत् रह्यो भने, प्रदेश सरकारले सञ्चालन गर्ने सम्पूर्ण गतिविधिहरूको समाचार प्रकाशन र प्रसारण नगर्ने जस्तो कठोर आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना हुने उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, प्रेस युनियनका उपाध्यक्ष सुजन विडारी, प्रेस चौतारीका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपालका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, फोनिजका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, बानका अध्यक्ष गंगा पौडेल, सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष दान बहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समूहकी महासचिव नानीमाया सापकोटा, तथा राष्ट्रिय फोटो पत्रकार संघका सचिव कुमार श्रेष्ठले पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। 

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img