सुर्खेत | कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लामा असार १५ गते (आइतबार) सार्वजनिक बिदा दिइने भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा सरकारले उक्त बिदा दिने निर्णय गरेको हो।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८१ चैत १७ गते गरेको निर्णयअनुसार जुम्लाबाहेकका जिल्लामा मात्र असार १५ गते सार्वजनिक बिदा हुनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीका अनुसार उक्त दिन सरकारी तथा सार्वजनिक संघ–संस्थाहरू बन्द रहनेछन्।
जुम्ला जिल्लामा भने असार १५ मा होइन, चैत १२ गते नै राष्ट्रिय धान दिवस मनाइने निर्णय भएअनुसार सो दिन बिदा दिइएको थियो। जुम्लाको भू–जलवायुको कारण धान रोपाइँको समय फरक पर्ने भएकाले उक्त जिल्लामा चैतमै धान दिवस मनाइने चलन रहिआएको छ।
यसअनुसार कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिम जिल्लामा असार १५ गते सार्वजनिक बिदा लागू हुनेछ भने जुम्लामा भने यो दिन कार्यलयहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
धान दिवसलाई राष्ट्रिय उत्पादन र मौसमी कृषि संस्कृतिको उत्सवका रूपमा हेरिँदै आएको छ। विभिन्न प्रदेशहरूमा यो अवसरमा रोपाइँ महोत्सव, दौड प्रतियोगिता, कृषि प्रदर्शनीजस्ता कार्यक्रमहरू आयोजना गरिने परम्परा छ।



