देशबागमती प्रदेशसिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने काम जारी

सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने काम जारी

हेटौँडा | काठमाडौंलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक डाइभर्सनमार्फत सञ्चालनमा आए पनि मुख्य सडकमा खसेको पहिरो ४८ घण्टा बितिसक्दा पनि पन्छाउन सकिएको छैन। शनिबार बिहान करिब नौ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुक्खा पहिरोका कारण प्रदेश सरकारले निर्माण गरिरहेको सिस्नेरी सडक अवरुद्ध भएको थियो। त्यसको २४ घण्टापछि डाइभर्सनमार्फत अस्थायी रुपमा आवतजावत सुरु भए पनि मूल सडक अझै अवरुद्ध छ।

आइतबार दिनभर तीनवटा मेसिन प्रयोग गरेर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि बेलुकी परेको पानीका कारण पुनः पहिरो खस्दा बाटो खोल्ने काम थप जटिल बनेको हो। पहिरो खसेलगत्तै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरी बाटो खोल्ने प्रयास थालेको थियो। तर निरन्तर ढुङ्गा–माटो खसिरहेकाले काम अघि बढ्न सकेन। मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना, हेटौंडाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित पहिरो हटाउने कार्य जारी राखेको जनाएको छ।

आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर खटिए पनि बेलुकी पानी परेपछि खसेको पहिरोका कारण साँझ ६ बजेपछि काम रोक्नुपरेको थियो। उनले सोमबार बिहानदेखि तीनवटा मेसिनमार्फत पुनः काम थालिएको जानकारी दिए। एक्स्काभेटर, जेसिबी र लोडर एक–एकवटा प्रयोग गरेर दुईतर्फबाट बाटो खुलाउने काम भइरहेको र दिनभरमै सक्ने लक्ष्यसहित अघि बढेको उनको भनाइ छ। तर पहिरो ठुलो हुनुका साथै माथिबाट ढुङ्गा–माटो खसिरहेकाले कठिनाइ भइरहेको उनले बताए।

उक्त सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत निर्माण गर्दै आएको हो। राजधानी मार्ग नाम दिइएको यो सडकको काठमाडौंतर्फको केही खण्ड अझै कालोपत्रे हुन बाँकी छ। मुख्य सडक अझै अवरुद्ध हुँदा यात्रुहरू असुविधामा परेका छन् भने अस्थायी डाइभर्सनमार्फत मात्र आवतजावत गर्नुपर्ने बाध्यता कायम छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img