चितवन । चाडपर्व सुरु भएसँगै अण्डाको खपत ह्वात्तै बढेको छ । उत्पादन घटेको र माग बढेकै कारण बजारमा अण्डाको मूल्य पनि बढेको हो ।
नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार विभिन्न फार्मको दररेटका आधारमा तय गरिएको नयाँ मूल्य बिहीबारदेखि लागू हुनेछ ।
नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५४५ र मझौला अण्डाको मूल्य रु ५३० कायम गरिएको छ । खुद्रा बजारमा भने प्रतिगोटा २३ रुपैयाँमा बिक्री हुने सङ्घले जनाएको छ ।
हाल नेपालमा अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ । नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँसम्म पाउने भएकाले लामो समयदेखि लागतसमेत नपाएका किसानले केही राहत महसुस गरेका छन् ।
सङ्घका अध्यक्ष पोखरेलका अनुसार यस वर्ष साउन महिनासम्म पनि माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने संकेत देखिएको छ । तर, विगतमा ठूलो नोक्सान व्यहोरेका कारण धेरै किसान यसैबीच व्यवसायबाट विस्थापित भइसकेका छन् । अहिले कुखुरा पालिरहेका किसान पनि अझै संकटग्रस्त अवस्थामा रहेको उनको भनाइ छ ।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल उत्पादन घटेर करिब २२ लाखको हाराहारीमा झरेको छ ।



