चितवन | चेपाङ समुदायको न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ संघले शुक्रबार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा दीप प्रज्वलन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरिएको हो। उनले न्वागी पर्वले चेपाङ समुदायको संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार समुदायका हरेक घरमा दीप प्रज्वलन गरिएको छ।
हरेक वर्ष फरक जिल्लामा मनाइने न्वागी पर्व गतवर्ष धादिङमा आयोजना गरिएको थियो भने यस वर्ष चितवनमा भइरहेको छ। संघका अध्यक्ष गोविन्दरामका अनुसार आगामी वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकामा पर्व मनाइनेछ।
दीप प्रज्वलन कार्यक्रममा संघका महासचिव सन्तबहादुर चेपाङ, केन्द्रीय सदस्य लक्ष्मण चेपाङ, दीपा चेपाङ, बागमती प्रदेश सदस्य मनिका चेपाङ, चितवन अध्यक्ष भीम चेपाङ, गाउँपालिका अध्यक्ष विकास चेपाङलगायत स्थानीयको उपस्थिति थियो।
संघले शनिबार कालीखोलामै विशेष सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथि रहने संघले जनाएको छ।




