चितवन । चितवनस्थित नारायणी नदीमा बाढी आएपछि जलसतहले सतर्कता तह पार गरेको छ। देवघाट जलमापन केन्द्रमा नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
शनिबार दिउँसो सूचना जारी गर्दै महाशाखाले असोज ११ गते आइतबार बिहानसम्मै तटीय क्षेत्र र डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई सजग रहन आग्रह गरेको छ।
नारायणी नदीमा बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले आसपासका बस्तीमा डुबानको खतरा बढेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा महाशाखाले नदी किनारका नागरिकलाई सुरक्षित रहन र आवश्यक पूर्वतयारी अपनाउन सूचित गरेका छन्।




