हेटौँडा | पछिल्लो समय मकवानपुरमा लागुऔषध कारोबार र ओसारपसारमा संलग्नता तीव्र गतिमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म जिल्लामा ७ सय ३५ वटा आपराधिक मुद्दा दर्ता भएका छन्, जस मध्ये १ सय २६ वटा मुद्दा लागुऔषध सम्बन्धी छन्। त्यो भनेको जिल्लामा दर्ता भएका कुल मुद्दामध्ये करिब १७.१४ प्रतिशत लागुऔषध सम्बन्धी रहेका छन् ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) स्यामु अर्यालका अनुसार ती लागुऔषध मुद्दामा १ सय ९३ जना व्यक्तिहरू पक्राउ परेका छन्। उनका अनुसार पछिल्लो समय यो अपराधमा ३५ वर्षभन्दा कम उमेरका ८० प्रतिसत युवायुवतीहरूको संलग्नता रहेको छ। “धेरैजसो कलेज पढ्ने युवा र युवतीहरू समेत यस लतमा फसेको देखिएको छ,” डीएसपी अर्यालले बताए।
मकवानपुर प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ४ हजार ८७ किलो ५३८ ग्राम गाँजा, १४ किलो २ सय ५१ ग्राम अफिम, ४ सय १८ ग्राम खैरो हिरोइन, र ५१ किलो ७१० ग्राम चरेस बरामद गरिएको छ। यस्तै, लागूऔषध तस्करीमा प्रयोग भएका ४१ वटा सवारी साधन पनि जफत गरिएको आर्यालले जानकारी दिए।
यसै क्रममा आइतबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गको हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार चितवन, राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेको छ। उनको साथबाट ५ किलो ९४० ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ उनले झोलाभित्र लुकाइ छिपाई ल्याएका थिए।
५ किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
यस्तै, वैशाख ६ गते साँझ प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित लोकमार्गमा चेकजाँच गर्ने क्रममा पथलैयातर्फबाट आउँदै गरेको ना ६३ प ४८७ नम्बरको मोटरसाइकल रोकी चालक हेटौंडा–४, हुप्राचौरका १९ वर्षीय विशाल सार्कीलाई नियन्त्रणमा लिएको थियो। मोटरसाइकलको अगाडिको चक्काको कभरभित्र लुकाइएको अवस्थामा ३ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी र नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार समुदायस्तरमा समेत जनचेतना फैलाउने कार्यक्रमहरूलाई सशक्त बनाउँदै युवाहरूलाई लागुऔषधको प्रभावबाट जोगाउने प्रयास भइरहेको छ।



