बागमती | मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ स्थित माछा प्लान्ट नजिकै शनिबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करिब शनिबार साँझ मोटरसाइकल (प्र.३-०२-०० ८ प २६२८), स्कुटर (बा.प्र.०३-००५ प ५१६९), र ट्रक (ना.७ ख ४२९५) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। स्कुटर र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल ट्रकको बम्परमुनि परेको थियो।
दुर्घटनामा स्कुटर चालक रोहित तामाङ गम्भीर घाइते भएका छन्। उनको टाउको र दाहिने खुट्टामा चोट लागेको छ, जसका कारण थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ। स्कुटरमा सवार उनकी श्रीमती रमिला तामाङ र छोरा रोजन तामाङ पनि घाइते भएका छन्। रमिलाको खुट्टामा चोट लागेको छ भने रोजनको मुख र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
यस्तै, मोटरसाइकल चालक गोपि तामाङ र पछाडि सवार विष्णु प्रजा पनि घाइते भएका छन्। उनीहरूको टाउको, आँखाको भाग, र हातमा चोट लागेको छ। घाइतेहरूको प्रारम्भिक उपचार हेटौंडा अस्पतालमा गरिएको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीनै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। ट्रकका चालक पदमपोखरीका २९ वर्षीय सुकराम घलानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।