कोशी | प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रमा देखिएका वातावरणीय समस्याहरूको समाधानका लागि गहन बहस र ठोस कदम आवश्यक भएको बताएका छन्। शनिबार इटहरीमा नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वातावरणीय चिन्तालाई प्राथमिकतामा राखेर काम गर्न युवाहरूलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले हिमालय क्षेत्रको वातावरणीय समस्या जटिल बन्दै गएको भन्दै यसबारे गम्भीर बहस र समाधान खोज्नुपर्ने बताए। “हिमालय जोगाउन नसके वातावरणीय प्रणाली तहसनहस हुनेछ, जसको प्रभाव मानव अस्तित्वमै पर्नेछ। हामीसँग हिमाल छ, तर यसलाई जोगाउन नसक्ने हो भने हाम्रो मौसम र वातावरण दुवै रहनेछैन। त्यसैले यसबारे सजग भएर बहस गर्नुपर्ने समय आएको छ,” ओलीले भने।
ओलीले पछिल्लो समय युवाहरूमा निराशा बढेको उल्लेख गर्दै उनीहरूलाई राष्ट्र निर्माणका लागि सक्रिय हुन आग्रह गरे। उनले युवालाई के भएन भनेर निराश हुनुभन्दा पनि के गर्नुपर्छ भनेर सुझाव दिन आग्रह गरे । उनले युवाहरूले सकारात्मक सोच राखेर राष्ट्रको भविष्यप्रति जिम्मेवारी लिनुपर्नेमा जोड दिए । साथै, वातावरणीय मुद्दालाई प्राथमिकतामा राख्न नसकेकोप्रति युवाहरूलाई सचेत गराए।
ध्यान दिवसको अवसरमा बोल्दै ओलीले मानिसको मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान आवश्यक भएको बताए। “मानिसले शारीरिक सुगठनका लागि जिम जान्छन्, तर मानसिक सुगठनका लागि योग र ध्यानको आवश्यकता छ,” उनले थपे ।
ओलीले नेपाल जेसीजले युवाहरूको नेतृत्व विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले भने, “जेसीजले युवा उमेरमै नेतृत्व र उद्यमशीलता विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले राम्रा कामहरूलाई प्रवर्द्धन गर्दै आइरहेको छ।”
एक फरक प्रसङ्गमा बोल्दै ओलीले वर्तमान गठबन्धन सरकार आगामी चुनावसम्म रहने दाबी गरे। उनले आगामी १८ महिनापछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने निश्चित भएको बताए । “डेढ वर्षपछि प्रधानमन्त्री देउवाजी नै हुनुहुन्छ, यसमा कुनै शंका छैन,” उनको भाषण थियो ।
नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा देशभरका १ हजार २ सय ४६ मतदाताले मतदान गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन पुस ८ गतेसम्म चल्नेछ। महाधिवेशनका निर्देशक दीपक ढकालका अनुसार देशभरका १ सय ७८ शाखाबाट सहभागीहरू उपस्थित छन्।
महाधिवेशनका अन्य वक्ताहरूले युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्न योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए । “राजनीतिक नेतृत्वमाथि आलोचना गर्नेभन्दा देशको भविष्य सुनिश्चित गर्न ठोस योजना ल्याउनु आवश्यक छ,” वक्ताहरूले भने ।
महाधिवेशनले सन् २०२५ का लागि राष्ट्रिय पदाधिकारीहरूको चयन गर्नेछ। साथमा, नेतृत्व विकासका गतिविधि र सामाजिक कार्यहरूमा पनि जोड दिने जनाएको छ ।