हेटौँडा | कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट घोषण गरेको छ। मंगलबार गाउँपालिकाको १६औं गाउँसभामा प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षभन्दा ५ करोडले बढी हो । बजेटमा चालु खर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय (कुल बजेटको ६०.९%) र पूँजीगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार (३९.१%) विनियोजन गरेको छ। मकवानपुरकै सबैभन्दा विकट गाउँपालिका भनिएको कैलाशले चालु आर्थिक वर्षमा ४८ करोड ७८ लाख बजेट लागू गरेको थियो।
सामाजिक विकासमा चालु र पूँजीगत मिलाएर २३ करोड ४९ लाख ६४ हजार रुपैयाँ छुट्याइएको छ भने सीमान्तकृत, अपाङ्गता भएका र सहिद परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था समावेश गरिएको छ। यसैगरी विद्यालयबाट वञ्चित बालबालिकाको शिक्षा निःशुल्क बनाउने संवैधानिक हक सुनिश्चित गर्ने प्रतिबद्धता पनि बजेटमा उल्लेख गरिएको छ । आर्थिक विकासतर्फ २ करोड ७७ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूर्वाधार विकासमा पूँजीगत रूपमा १६ करोड ४४ लाख रुपैयाँ प्रत्यक्ष लगानी गरिनेछ।
गाउँपालिकाले विगत वर्षदेखि सञ्चालन गरिरहेको चेली प्रोत्साहन कार्यक्रमलाई अगाडि बढाउँदै बालविवाह न्यूनीकरणमा केन्द्रित गरेको छ। यस कार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न, शिक्षाबाट बञ्चित र बालविवाहको जोखिममा रहेका छात्राहरुलाई लक्षित गरिनेछ । साथै चेपाङ समुदायको सांस्कृतिक, सामाजिक र ऐतिहासिक विशेषतालाई संरक्षण गर्दै उनीहरूका बस्तीलाई “चेपाङ संरक्षित क्षेत्र” को रूपमा विकास गर्ने नीतिगत प्रतिबद्धता पनि बजेटमा समावेश गरिएको छ।
अतिविपन्न र सीमान्तकृत महिलाहरूको सशक्तीकरणका लागि ग्रामीण महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरी उनीहरूको सीप र क्षमता विकासमा केन्द्रित हुनेछ। यसैसथै “हिंसामुक्त गाउँपालिका” को पहिचान कायम राख्न हिंसा विरुद्ध सुन्य सहनशीलता नीति लागू गरिनेछ। प्रशासनिक खर्चतर्फ ९ करोड ७९ लाख रुपैयाँ र सुशासन तथा सम्बन्धित क्षेत्रमा ९२ लाख ९२ हजार १ सय रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापनमा ४३ लाख रुपैयाँ छुट्याइएको छ भने स्थानीय सहकारी संस्थाहरूलाई संगठनात्मक रूपमा सुदृढ बनाउने लक्ष्य राखिएको छ।
यस बजेटले कैलाश गाउँपालिकाको सामाजिक सुरक्षा (विशेषगरी बाल अधिकार र महिला सशक्तीकरण), ग्रामीण पूर्वाधार निर्माण र सांस्कृतिक संरक्षणलाई रणनीतिक प्राथमिकता दिएको छ। बालविवाह रोकथामका लागि चेली प्रोत्साहन जस्ता कार्यक्रमहरूले दिगो सामाजिक परिवर्तनमा योगदान दिने अपेक्षा गरिएको छ।