सुनसरी / कोरोन भाइरस संक्रमण बढे पछि खोटाङ जिल्लाका हाटबजार बन्द गरिएको थियो भने एक महिना अघि बन्द गरिएका जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित हाटबजार खुला गरिएको छ ।
कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि गत माघ–६ गतेदेखि अनिश्चितकालीन बन्द गरिएका जिल्लास्थित सबै स्थानीय तहका हाटबजार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को शुक्रबार बसेको बैठकले खुला गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को सङ्क्रमणको घट्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्ने तथा एकै स्थानमा २५ भन्दा बढी उपस्थित नहुने गरी हाटबजार खुला गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय कृषक मारमा पर्ने गरेका छन् ।
डिसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बैठकले गत आइतबारदेखि हलेसी मन्दिरसहित जिल्लास्थित मठमन्दिर, गुम्बा, चर्च र विद्यालयसमेत खुला गर्ने निर्णय गरेको छ ।
हलेसी मन्दिर खुलेसँगै एक पटकमा बढीमा १५ जना नबढ्ने गरी दर्शनार्थी प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए ।
जिल्लामा कोरोनाको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने व्यवस्था भइरहेको छ । यसअघि गत माघ २७ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीएमसी)को बैठकले २४ दिनपछि हलेसी मन्दिर खुला गर्ने निर्णय गरेको थियो ।