सुनसरी / विक्रम सम्वत् १९७७ सालमा चन्द्रशमशेरले सतीप्रथामा बन्देज लगाएपछि श्रीमानसँगै श्रीमतीको पनि एउटै चितामा अन्त्येष्टि गरिएको घटना विरलै सुनिन्थ्यो ।
प्राकृतिक विपत्तिमा परेर जीवन गुमाएका परिवार बाहेकका घटनामा एउटै चितामा एक वा सोभन्दा बढीको पार्थिव शरीरलाई अग्निदाह दिएका घटना पनि कमै सुनिन्थ्यो ।
झापामा यस्ता घटना कमै हुने गरेका हुन् । तर, झापाको शिवसताक्षीस्थित कनकाई माईको पश्चिम किनारमा शनिबार सतिप्रथा कै झल्को एउटा घटनाले दिइरहेको थियो ।
त्यहाँ बनाइएको एउटा चितामा श्रीमान्–श्रीमती जलिरहेका थिए । शवयात्रामा सहभागी अधिकांशले पनि एउटै चितामा श्रीमान् श्रीमतीको शव जलिरहेको कमै देखेको बताए । केहीले अलग–अलग चिता बनाएर अग्नि संस्कार गरेर अन्त्येष्टि गर्ने बताए पनि परिवार र आफन्तले भने एउटै चितामा दम्पतीको शव राखेर अन्त्येष्टि गर्ने बताए ।
शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी पत्नी ५२ वर्षीया कमला भट्टराईको शव जलिरहँदा सहभागी मलामीका आँखा ओभानो थिएनन् ।
भट्टराई दम्पतीले इच्छामरण किन रोज्नुपर्यो ? उनीहरु मृत्यु रोज्न किन हतारिए ? के उनीहरुको इच्छामरण अन्तिम विकल्प नै थियो त ? मलामीका मनमा यस्तै प्रश्न आइरहेका थिए । तर, यी प्रश्न अनुत्तरित थिए ।
किनभने, जसले यी प्रश्नको जवाफ दिन्थ्यो, उनीहरुलाई चिता माथि राखी सकिएको थियो । भट्टराई दम्पत्तिले मृत्युलाई प्राथमिकतामा राख्नु उनीहरूको गरिबी मुख्य कारण भएको स्थानीयले अनुमान लगाएका छन् ।
भदौ १९ गते राति छोराबुहारी घरको पल्लो कोठामा सुतिसकेपछि तेजप्रसाद र कमलाले इच्छामरण गर्ने निक्र्यौल गरे सायद । दुबैजनाले नाम थाहा नभएको विषादि सेवन गरे र नजिकैको परालको माचमा गए ।
परालको माचमा मध्यरातमा पुग्नुपर्ने कारण आफूहरुले विषादि पिएको कसैलाई थाहा नहोस् भन्ने हुनुपर्छ । तर, छोरा खगेन्द्र बाहिर निस्कँदा बुवाआमा सुत्ने कोठाको ढोकाको ‘हेन्डल’ लगाएको भेटे । यति राति विना जानकारी कता जानु भएछ भनेर खोज्ने क्रममा छोरा खगेन्द्रले नजिकैको परालको माचमा दुवैजनालाई छट्पटाइरहेको अवस्थामा भेटे ।
गाउँमा एकपछि अर्को गर्दै दम्पतीले विषादि सेवन गरेको हल्ला फैलियो । दुवैजनाको जीवन बचाउन सकिन्छ कि भनेर बिर्तामोडको मनमोहन अस्पतालमा पुर्याइयो ।
तर, दुवैजनालाई विषादिले दिएको पीडा बीसको उन्नाइस भएन । २० गते कमलाले यो संसारलाई सँधैका लागि छोडेर गइन् । उनको जीवनको बाधक गरिबी भएर आउँदा जीवन छोड्न उनी बाध्य भइन् । उनको मृत्युपछि शवको पोष्टमार्टम गर्नलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो ।
यता श्रीमान्को अवस्था पनि नाजुक बन्दै गयो । उपचार गर्ने पैसा भट्टराई परिवारमा थिएन । चिकित्सकले पनि उपचार गर्दा बचाउन नसकिने बताएपछि कमलाको शवलाई मेची प्रादेशिक अस्पतालमा पोष्टमार्टम गर्न पठाएर अचेत अवस्थामा रहेका तेजप्रसादलाई घरमा ल्याइयो ।
२२ गते तेजप्रसादको शरीर केही अङ्ग चल्न थालेपछि थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो । उनको त्यहाँ उपचार प्रक्रिया शुरु पनि भयो । तर, हुनुहार– दैव नटार भनेझैँ उनको पनि श्रीमतीकै जस्तो इहलीला समाप्त भयो ।
कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरबाट पीडित कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारमा गए । छोराले कमाएको पैसाले कमलाको उपचार सम्भव थिएन ।
श्रीमान्ले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । तर, कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन । छोराले विदेशबाट कमाएको पैसा र श्रीमान्ले ऋण गरेर करिब १३ लाख रुपैयाँ कमलाकै उपचारमा खर्च भयो । श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । खुट्टाले पनि तेजप्रसादलाई दुःख दिरहन्थ्यो । उनको खुट्टामा लगाएको ‘स्टिल’ निकाल्न आर्थिक अवस्था दयनीय भएकै कारण सकेका थिएनन् ।
एकातिर श्रीमतीलाई क्यान्सर अर्कातिर श्रीमानको खुट्टाले दिएको असह्य पीडा दम्पत्तिलाई खपिसाध्य भएन । ०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सँरी आएका थिए– भट्टराई परिवार ।
पहाडको सम्पत्ति सबै बेचेर उपचार गरेका दम्पतीको एकमात्र छोरा हुन् खगेन्द्र । १ कठ्ठा जग्गा र त्यसमा बनेको घर बाहेक भट्टराई दम्पतीको केही थिएन ।