तेह्रथुम: लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ ।
गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएनन् । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् ।
यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको थियोे । तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारे, पाँचपोखरी लगायतका पर्यटकीय क्षेत्र हुन् ।
हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए । उनले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिए । तीनजुरे क्षेत्रको पाँचपोखरी छेउमा गुराँसको उद्यान निर्माण गर्न लागिरहेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन मावोहाङले बताए । पाँचपोखरी छेउमा गुराँसको पार्क बनाउन ठेक्का लागिसकेको र तीनजुरे सामुदायिक वनले गुराँसका बिरुवा रोपिरहेको उनको भनाइ छ ।
हिउँ परेसँगै अत्यधिक जाडोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या भएको स्थानीयहरूले बताउने गरेका छन । हिउँ परेसँगै आन्तरिक पर्यटकहरू भित्रिने क्रम बाक्लो रहेको देउरालीका छिरीङ शेर्पाले बताए ।