देशकोशी प्रदेशपाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

ताप्लेजुङ- ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि बढाउनुपर्ने उनीहरुले बताएका हुन् ।

केबलकारसँगै यहाँ अन्य पर्यटकीय पूर्वाधार निर्माण भए आर्थिक रुपमा समग्र जिल्लालाई फाइदा पुग्ने यहाँका स्थानीय सरकारका प्रमुखहरुको धारणा छ । उनीहरुले पाथीभरामा केबलकार निर्माण गर्न सकिएमा आन्तरिक एवं भारतीय धार्मिक पर्यटकका साथै कञ्चनजङ्घा आधार शिविर आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् ।

अहिले यहाँ देवीको दर्शन गर्न तथा पर्यटकका रुपमा वार्षिक तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक एवं तीर्थालु आउने गरेकामा केबलकार बनेपछि कम्तीमा १५ लाखसम्म पर्यटक यहाँ आउने उनीहरुको आकलन छ । त्यसैले उनीहरुका लागि होटल, रेष्टुरेन्ट एवं यातायातजस्ता आधारभूत पर्यटकीय पूर्वाधारको निर्माण समेत हुने भएकाले यो बृहत आयोजनाले ताप्लेजुङको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ ।

यहाँको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा देवीको मन्दिरमा जाने प्रयोजनका लागि बन्न लागेको प्रस्तावित केबलकारबाट जिल्लाको मात्र नभएर सिङ्गो कोशी प्रदेशमा नै विकासको बाटो खुल्ने भएकाले यो बृहत आयोजनालाई जतिसक्दो चाँडै अघि बढाउनुपर्ने बताउँछन् ।

प्रमुख मादेनले केबलकार निर्माण कम्पनीले मन्दिरलाई पर्खाल लगाएर संरक्षण गर्ने र यसको ऐतिहासिकता र सौन्दर्यमा कुनै असर नपर्नेगरी मन्दिरबाट करिब आठ सय मिटर तल केबलकारको टप स्टेसन राखेर त्यहाँबाट हिँडेर जानेगरी निर्माण प्रस्ताव गरेको जानकारी दिए ।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा पर्दछ । यहाँ बर्सेनि करिब तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक पुग्ने गर्दछन् । धेरै उचाइमा मन्दिर रहेकाले यहाँ पुग्न तीर्थालुलाई गाह्रो पर्ने गरेको छ । त्यसैले केबलकार निर्माण गर्न सकिएमा यहाँ जाने धार्मिक पर्यटकलाई सजिलो होस् भनेर गएको दशकदेखि नै यहाँ केबलकार निर्माण सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

यहाँ पाथिभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीले केबलकार निर्माणको प्रक्रिया सुरु गर्न लागेको छ । स्थानीयहरुले भने कम्पनीलाई चाँडै काम थाल्न भनेका छन् । उनीहरूले देशका विभिन्न धार्मिक पर्यटकीय स्थानहरुमा धमाधम केबलकारदेखि अन्य पर्यटन पूर्वाधारहरू बनिरहेका बेला पाथीभरामा पनि जतिसक्दो चाँडै काम थाल्न भनेका हुन् ।

सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पाथीभरामा तीर्थयात्रीको सङ्ख्या वृद्धि गर्न र यहाँको विकास अघि बढाउन केबलकार बन्नुपर्नेमा जोड दिएको छ । केबलकार बनेमा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै मन्दिरको संरचना र ऐतिहासिकतामा असर नपुग्ने गरी केबलकार निर्माण गर्दा राम्रो हुने उनको सुझाव छ ।

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जिल्लाबासीका सुझाव एवं मागलाई उचित रुपमा सम्बोधन गरेर निर्माण अघि बढाउन सुझाउछन् । विवादबीचमा निर्माण सुरु गर्नुभन्दा यहाँका स्थानीय नागरिकका कुरा सुनेर र विवाद समाधान गरेर अघि बढ्नु उचित हुने उहाँको भनाइ छ ।

यसैबीच केबलकार निर्माणको विरोधमा रहेका केही स्थानीयसँग छलफल गर्न सोमबार बैठक पनि आह्वान गरिएको छ । निर्माणप्रति असहमति जनाइरहेको पक्षसँग समन्वय गर्नका लागि यसअघि जिल्ला समन्वय समितका प्रमुख छिरिङ लामाको संयोजकत्वमा गठित समितिले सोमबार छलफलको आयोजना गरेको हो ।

यता केबलकार खारेजी संयुक्त संघर्ष समितिले भने पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नुहने अडान कायमै राखेको छ । ऐतिहासिक मुन्धुमी स्थलमा केबलकार निर्माण भए ऐतिहासिकता मेटिनुका साथै जल जमिन र जङ्गलको बिनास हुने उनीहरुको जिकिर छ ।

यहाँ केबलकार निर्माण गर्ने चर्चा करिब दश वर्षअघिदेखि भए पनि निर्माण भने हुन सकेको छैन । त्यसैले यसपटक केबलकार निर्माणका क्षेत्रमा अनुभवी कम्पनी पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माणको अनुमति पाएकाले निर्माणको वातावरण बनाउनुपर्नेमा जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधि छन् । यसअघिका छलफलमा यहाँका प्रमुख राजनीतिक दलहरुले केबलकार निर्माणलाई चाँडै अघि बढाउन माग गरेका थिए ।

आन्तरिक रुपमा देखिनसक्ने सबै प्रकारका विवादको समाधान गरेर जिल्लाको पर्यटन प्रर्वद्धनका लागि केबलकार र यससहितका पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि बढाउन दलहरु सकारात्मक देखिएका छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img