Thursday, March 27, 2025
देशमधेस प्रदेशसिरहामा भारतीय नागरिकलाई नेपाली नागरिकता

सिरहामा भारतीय नागरिकलाई नेपाली नागरिकता

सिरहा | सिरहाको नरहा गाउँपालिका–३ मा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाइएको खुलासा भएको छ।

वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेल गर्दै भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको तथ्य बाहिर आएको हो।

स्थानीयका अनुसार, वडा अध्यक्ष अन्सारीकै मिलेमतोमा नक्कली अभिभावक खडा गर्दै मोसताक मियाँलाई नेपाली नागरिकता दिलाइएको हो। नरहा गाउँपालिका–३, खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई नक्कली बुवा-आमा बनाई सनाखत गराइएको छ।

तर, अमानत मियाँले आफूले कुनै पैसा नलिएको दाबी गर्दै भने, “मेरो छोराको नागरिकता बनाउन वडा कार्यालय गएको थिएँ। त्यही बेला सचिवले थप एउटा कागजमा सही गरिदेउ भनेपछि गरिदिएँ। पछि मात्र थाहा पाएँ कि मेरो नाममा अर्कैको नागरिकता बनाइएको रहेछ।”

एक स्थानीयका अनुसार, पैसाको लोभमा उनीहरू बुवा-आमा बनेका हुन्, र सम्पूर्ण योजना वडा अध्यक्ष अन्सारीले नै मिलाएका थिए।

सूचनाका अनुसार, नागरिकता सिफारिस र अन्य मिलेमतो गर्न वडा अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको दाबी गरिएको छ। एक स्थानीय स्रोतले भने, “वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत घूस दिएर नागरिकता बनाइदिएका हुन्।”

वडा अध्यक्ष अन्सारीले भने कार्यालयमा भिडभाड भएकाले गल्ती हुन गएको दाबी गरे। “त्यस दिन कार्यालयमा धेरै भिड थियो। सचिवले कागज दिए, मैले धेरै नहेरी सही गरिदिएँ। यो भुलचुकका कारण भएको हो,” उनले भने।

वडा सचिव मण्डलले भने आफू निर्दोष रहेको दाबी गर्दै भने, “अध्यक्षको आदेश अनुसार कागज मिलाएको हुँ। को कसको छोरो हो भन्ने कुरा मलाई थाहा हुँदैन।”

स्थानीयले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि हालसम्म कुनै चासो नदेखाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी तेजराज बराल ले भने, “यो घटना मेरो नोटिसमा छैन। म बुझेर जानकारी गराउँछु।”

स्थानीयका अनुसार, तलदेखि माथिसम्म मिलेमतो भएकै कारण प्रशासनले चासो नदेखाएको हो।  -(न्युज कारखाना)

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img