खेल समाचारपहिलो सहभागितामै चर्च ब्वाइजले जित्यो बागमती गोल्डकपको उपाधि

पहिलो सहभागितामै चर्च ब्वाइजले जित्यो बागमती गोल्डकपको उपाधि

हेटौँडा ।  चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागितामै बागमती गोल्डकपको उपाधि जितेको छ। सातौं संस्करणमा पहिलो पटक भाग लिएको चर्च ब्वाइजले साविक विजेता मछिन्द्र क्लबलाई पराजित गर्दै च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न फाइनल खेलमा चर्च ब्वाइजले मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै उपाधि उचाल्यो। चर्च ब्वाइजका समीर तामाङ खेलको ४७औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाउने नायक बने। उत्कृष्ट प्रदर्शनका लागि तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

फाइनल खेलमा दुवै टोली आक्रामक देखिए पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइजको पक्षमा खेल टुंगियो। यसअघि सेमिफाइनलमा चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने मछिन्द्र क्लबले थ्री स्टारलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।

बिजयको साथ चर्च ब्वाइजले १० लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पार्यो भने उपविजेता मछिन्द्र क्लबले ५ लाख रुपैयाँमा सन्तोष मान्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए, जसले १ लाख १ हजार १०१ रुपैयाँ प्राप्त गरे।

यस्तै, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, उत्कृष्ट डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर मछिन्द्रकै रोशन राना मगर, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, र उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए। उनीहरूले जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिता आयोजक गाउँपालिका खेलकुद विकास समितिले खेलकुद क्षेत्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो झुरझुरेका स्टेशन म्यानेजर विवेक सिंतानलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गर्‍यो। पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको थियो।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी, गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्र कुमार तिमल्सिनालगायतले विजेता र उपविजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img