काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा सवारीसाधनमा क्षति पुगेको छ।
मंगलबार दिउँसो करिब सवा १ बजे कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गरेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की सवार गाडी आपसमा ठोक्किएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित सो कार्यक्रममा सहभागी हुन मन्त्रीद्वय चिसापानीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार मन्त्री सार्की चढ्ने से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किएका हुन्। ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भाग र से.१ झ ३३० नम्बरको गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ।
प्रहरीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन।



