कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजनामा सोमबार सुरु भएको तालिममा गाउँपालिकाको स्वास्थ्य शाखा तथा सबै वडाका स्वास्थ्य चौकीका इन्चार्जहरूको सहभागिता रहेको छ।
समाजकी अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथि रहेका थिए। तालिममा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, तथ्याङ्क प्रविष्टि, तथ्याङ्कको डिजिटलीकरण तथा व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीको प्रयोग र व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गरिने प्रशिक्षक सुजन श्रेष्ठले बताए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले स्वास्थ्य सेवासम्बन्धी सम्पूर्ण विवरण स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्दै आएको उल्लेख गरे। स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन वडागत स्वास्थ्य प्रमुखलाई ट्याब तथा ल्यापटप उपलब्ध गराइएको उनले बताए। पोषण प्याकेज कार्यक्रम, चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल, बर्थिङ सेन्टर र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवामार्फत गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेको उनको भनाइ थियो। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिका कारण सशर्त बजेटसमेत वृद्धि भएको उनले उल्लेख गरे।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले प्रेम सेवा समाजले स्थानीय स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि गाउँपालिकाले सहकार्यलाई निरन्तरता दिने बताए। स्थानीय भूगोल र समुदायलाई नजिकबाट बुझेको संस्थाका रूपमा समाजले स्वास्थ्य तथा सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी काम गर्दै आएको उनको भनाइ थियो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा व्यवहारमा उतार्न उनले सहभागीलाई आग्रह गरे।
कार्यक्रममा थाहा नगरपालिकाका पूर्व उपमेयर खड्ग गोपाली, सिडीईइएफका कार्यक्रम संयोजक भवानी प्रधान, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, कार्यक्रम संयोजक जानुका कान्दवालगायतको उपस्थिति रहेको थियो।



