सुनसरी / ताप्लेजुङको पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
आगामी २०७९ साल वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिइन् । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताइन् ।
सदरमुकाम फुङ्लिङमा आज प्रर्वधक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराए । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको हो ।
केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठले बताए ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । तीन अर्ब रुपैँया खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले बताए । – साङ्केतिक तस्बिर