बुटवलका- इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई उनकै निवासबाटै पक्राउ गरेको हो।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै खटिएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।
डीएसपी केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र सुन फिर्ताका लागि २५ लाख रुपैयाँ माग गरेको आरोप छ। सुन व्यापारीले २५ लाख रुपैयाँ रकम बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए। तर, काठमाडौंबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।