Wednesday, February 12, 2025
समाजखतिवडाको गुनासो- ‘युवतीहरूले अंकल भन्न थाले, बिहे त एक दिन पक्कै जुर्ला...

खतिवडाको गुनासो- ‘युवतीहरूले अंकल भन्न थाले, बिहे त एक दिन पक्कै जुर्ला कि’

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा दोस्रो पटक प्रतिनिधि सभा सदस्यको भूमिकामा छन् ।

ओखलढुङ्गाको तत्कालीन थाक्ले गाविस वडा नम्बर २ मा २०२६ साल पुस २४ गते बारीमा आमा कोदोको नल काट्न जाँदा जन्मिएका खतिवडाको न्वारनको नाम लीलानाथ खतिवडा हो ।

बाल्यकालमा उनी मामाघरमा बसेर पढे । मामाघरका हजुरबुवा लक्ष्मीप्रसाद दाहाल उपप्रधानपञ्च थिए । यता घरका हजुरबुवा लीलानाथ खतिवडा भने पुराण भन्ने पण्डित थिए ।

सानैदेखि पढाइमा तेज रहेका खतिवडाले स्कुले जीवनदेखि क्याम्पस तहसम्म सधैँ सफल उनले पढाइमा बीएल, एमएसम्मको अध्ययन हासिल गरे । स्कुले जीवनमा विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापमा खतिवडा सबै अगाडि हुन्थे । वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलापहरूमा उनी सधैँ प्रथम स्थान हासिल गर्थे ।

विद्यालयको परीक्षामा सधैँ पहिलो श्रेणीमा उत्तीर्ण हुँदै आएका उनी एसएलसी परीक्षमा गणित विषयमा आएको नम्बर सम्झँदा अहिले पनि उनी खिन्न हुन्छन् ।

जुनसुकै कक्षाको परीक्षामा गणितमा ९८, ९९ सम्म नम्बर ल्याउने उनको एसएलसी परीक्षामा गणितमा ३२ नम्बर मात्र आयो, ५ नम्बर नपुगेर उनले प्रथम श्रेणीमा उत्तीर्ण गर्ने अवसर गुमाएका थिए ।

पछिल्लो समय उनीमाथि आउने धेरै प्रश्न, सुझाव र आशीर्वाद बिहेका बारेमा हुनेगरेको छ । ५३ वर्षको उमेरमा हिँडिरहेका खतिवडा बिहेको साइत जुर्ने पर्खाइमा छन् ।

तपाईं किसुनजीको लाइनमा हो भन्ने जिज्ञासामा सांसद खतिवडाले भने, ‘सङ्गत त्यस्तै भयो, तपाईंले बिहेको प्रसङ्ग उठाउनुभयो, समय बित्दै जाँदा यस्तै हुँदो रहेछ । राजनीतिमा लागेपछि मलाई पनि बिहेतिर त्यति ध्यान गएन । कोही केटीसँग अफयेर भएर छोड्ने हिँड्ने काम पनि भएन । समय बित्दै गएपछि यसो योङ्ग केटी देखिनेले पनि अङ्कल भन्न थाले, आफ्नो उमेर भएका महिलाहरू बालबच्चासहित देखिन थाले । बिहे पनि आवश्यक छ तर अब हुन्छ होला । किसुनजीजस्तै सन्त भएर बस्दिनँ होला । ढिलोछिटो बिहे हुन्छ होला ।’

कलेज पढ्दा, राजनीति गर्दा कसैसँग प्रेम नभएको उनको जिकिर छ । उनले भने, ‘कलेज पढ्दा, राजनीतिमा लाग्दा साथीभाइहरू त धेरै थिए तर प्रेमका लागि भनेर अगाडि बढिएन । माया गरेर, प्रेम गरेर छुटेको अवस्था कलेज पढ्दा त्यस्तो भएन । सङ्गत धेरैसँग भयो तर अरू कुरा भएन ।’

ज्योतिषीका नातिसमेत रहेका सांसद खतिवडाले अहिलेसम्म नभेटेको र नहेरेको चिना को युवतीसँग मिल्ला ? त्यो अझै अनिश्चित छ ।
बिहेको सबैभन्दा धेरै चिन्ता आमाबुवालाई रहेको उनले सुनाए । आमाबुवा मात्र हैन मतदाता, बूढाबूढीले उनलाई आजभोलि बिहे छिट्टै होस् भनेर आशीर्वाद दिनेगरेका छन् ।

उनले हाँस्दै भने, ‘अहिले त बूढाबूढीहरूले आशीर्वाद दिँदा पनि सबैभन्दा पहिला अब त बिहे गर्नु है भन्न थालिसके । भोट माग्न जाँदा चुनाव त जितिहाल्नुहुन्छ, छिट्टै बिहे भएको देख्नपाऊँ भन्ने धेरै हुुनुहुन्थ्यो । धेरै मतदाताले पनि बिहे होस् भनेर आशीर्वाद दिएका छन् ।’

बिहेप्रति आशावादी हुँदै उनले भने, ‘अहिलेको वा अर्को कुनै सालमा बिहे होला भन्ने ठ्याक्कै निश्चित त छैन तर एक दिन होला नि । मान्छेहरूको एउटा भनाइ छ नि तीनवटा कुरा आफूले चाहेर हुँदैन रे । जन्म, मृत्यु र विवाह । यो चाहिँ परिस्थितिले के जुराउँछ, त्यहीअनुसार हुन्छ ।’

बिहेबारे ज्योतिषीलाई देखाउनुभएको छ ? उनले भने, ‘ज्योतिषीलाई अहिलेसम्म केही देखाएको छैन । विश्वास त लाग्छ तर देखाएको छैन । मेरो चिना नै छ कि छैन थाहा छैन । मेरो हजुरबुवा पण्डित भएका कारणले आफैँ चिना त लेख्नुहुन्थ्यो । चिनासिना बोकेर ज्योतिषीलाई हेराउने चलन हुन्छ तर आजसम्म मैले त्यस्तो केही गरेको छैन ।’

उनले सम्झिए, ‘आमासँग पक्कै मेरो चिना हुनुपर्छ ।’ ज्योतिषीका नातिसमेत रहेका सांसद खतिवडाले अहिलेसम्म नभेटेको र नहेरेको चिना को युवतीसँग मिल्ला ? त्यो अझै अनिश्चित छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस