काठमाडौँ । पछिल्लो १० महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा परि ४ सय १० जानाले ज्यान गुमाइसकेका छन् ।
बागमती प्रदेशमा सवारी दुर्घटनाको जोखिम घटाउन प्रहरीले कडा कारबाही गर्दै चालु आर्थिक वर्षको बैशाखसम्ममा मात्र करिब ७२ करोड रुपैयाँ जरिबाना असुली गरे पनि सवारी दुर्घटनाका घटनाहरू नरोकिनु नागरिकको चिन्ताको विषय बनेको छ।
प्रहरीबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको बैशाखसम्म प्रदेशभरि ८ हजार ८ सय भन्दा बढी व्यक्ति सवारी दुर्घटनाका कारण घाइते भएका छन् भने ७ हजार ९ सय ३५ वटा सवारी दुर्घटनाका घटनाहरू घटेका छन्। यहि अबधिमा, ट्राफिक नियम उल्लङ्घन गर्ने ९ लाख भन्दा बढी सवारी चालकलाई कारबाही गर्दै ७२ भन्दा बढी रुपैयाँ जरिबाना असुल गरिएको छ । यहि आँकडा हेर्दा बागमती प्रदेशमा सानाठुला दुर्घटना गरि दैनिक २० वटा भन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिन्छ ।
“यस्तो जरिबानाले हामीलाई सचेत बनाउँछ तर पर्याप्त छैन,” चितवन-काठमाडौं बस चलाउने सन्तोषकुमार राईले भने, “सडकहरू पुरानै छन्, सङ्केतहरू छैनन्। सवारी चालकहरूलाई शिक्षादीक्षा पनि उत्तिकै आवश्यक छ।” अर्का चालक उमेश लामाले पनि “नगद जरिबाना मात्रै भएर नपुग्ने” बताए।
सवारी चाप र सडक अव्यवस्थित हुनुका साथै चालकहरूको सचेतना अभावले गर्दा दुर्घटनाका घटनाहरू बढ्दै गएको प्रहरीको विश्लेषण छ। जरिबानाभन्दा पनि सडक सुरक्षा शिक्षा, सरोकारवाला निकायबीच सहकार्य र नयाँ प्रविधिको प्रयोग जरुरी देखिएको छ।
प्रहरी प्रशासनले पनि ट्राफिक नियमको कडाइ, चेकिङ र अनुगमन बढाए पनि दुर्घटनाको खतरा कायमै रहेको स्वीकार गरेको छ। चालु आर्थिक वर्षको बैशाखसम्ममा प्रदेशभर ९ लाख ४३ हजार ५ सय १३ जना बढी सवारी चालकलाई कारबाही गरिए पनि दुर्घटनाको सङ्ख्यामा खासै कमी आउन सकेको छैन। अर्थात् सचेतना हुन्दामात्रै दुर्घटना कमि हुने देखिएन ।
सरकारी तथा गैरसरकारी निकायहरूका साथै सर्वसाधारण नागरिकको सहभागितामा सडक सुरक्षा अभियानलाई नयाँ रणनीतिसहित अगाडि बढाउन सकिने विज्ञहरूको विश्लेषण छ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही
बागमती प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कडा कारबाही गरेको देखिन्छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्याङ्कले यसतर्फ प्रकाश पारेको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशको उपत्यका बाहेकका जिल्लाहरूमा मात्रै १ लाख ८४ हजार १५८ जना ट्राफिक नियम उल्लङ्घनकर्तालाई कारबाही गरिएको छ। यस क्रममा प्रहरीले करिब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ।
जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी ३५ हजार ६ सय ३९ जनालाई कारबाही गरिएको छ भने त्यहाँबाट २ करोड ५८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, मकवानपुरमा २९ हजार ७ सय ११ जना र धादिङमा १८ हजार ७ सय १९ जनालाई कारबाही गरिएको छ। राजस्व सङ्कलनतर्फ मकवानपुरबाट २ करोड २० लाख ८८ हजार र धादिङबाट १ करोड ३५ लाख ६७ हजार रुपैयाँ सङ्कलन भएको छ।
यसरी, सवारी चालकमाथि कडा नियम लागू गरिएको देखिन्छ। तर नियम उल्लङ्घनका घटनाहरू अझै बढ्दै गएकाले यसलाई लिएर चिन्ता बढेको छ। सरोकारवालाहरूले शान्त र सुरक्षित यातायात व्यवस्थाको सुनिश्चतताका लागि नियममा थप कडाइ गर्नुपर्ने बताउँछन्।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सजग गराउँदै कारबाही गर्ने उद्देश्यले विभिन्न चेकपोइन्टहरू स्थापना गरिएको बताउँदै सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको नेपाल प्रहरी प्रवक्ता दान बहादुर कार्की बताउँछन्।
सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्लेषकहरूको भनाई छ। सबैको सहयोगमा मात्र दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षित यात्रा सम्भव हुने बताइएको छ।
बागमतीका कुन क्षेत्रमा सवारी दुर्घटना बढी?
बागमती प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या दिनानुदिन बढिरहेको छ। यहाँको सडक सञ्जाल देशको प्रमुख आर्थिक, सामाजिक, र सांस्कृतिक जीवनको मुख्य अङ्ग भए तापनि, बढ्दो सवारी चाप र अन्य विभिन्न कारणहरूले दुर्घटनाको जोखिम बढाएको छ।
बागमती प्रदेशका विभिन्न क्षेत्रहरूमा सवारी दुर्घटनाको सङ्ख्या उल्लेखनीय रूपमा उच्च छ। विशेष गरी चितवन, मकवानपुर, र धादिङ जिल्लाहरूमा दुर्घटनाको घटना बढी हुने गरेको पाइएको छ।
चितवन जिल्ला बागमती प्रदेशका प्रमुख दुर्घटना भएका क्षेत्रहरूमध्ये एक हो। आर्थिक वर्ष २०७९/०८० मा ४ सय ४४ सवारी साधन दुर्घटनामा परेका थिए भने चालु आर्थिक वर्षको वैशाखसम्म २०८०/०८१ मा यो सङ्ख्या ४ सय ९८ मा पुगेको छ। मृत्यु हुनेको सङ्ख्या ६३ बाट ८४ मा बढेको छ र गम्भीर घाइतेहरूको सङ्ख्या १ सय ३७ बाट १ सय ६६ मा पुगेको छ।
मकवानपुर जिल्लामा पनि सवारी दुर्घटनाको सङ्ख्या उच्च छ। आर्थिक वर्ष २०७९/०८० मा मकवानपुरमा ३ सय ६९ सवारी साधन दुर्घटनामा संलग्न थिए भने चालु आर्थिक वर्षको वैशाखसम्म २०८०/०८१ मा यो सङ्ख्या २ सय ८९ मा झरेको छ। मृत्यु हुनेको सङ्ख्या ४३ बाट ४४ मा बढेको छ र गम्भीर घाइतेहरूको सङ्ख्या ९७ बाट १८६ मा बढेको छ।
धादिङ जिल्ला पनि सवारी दुर्घटनामा उच्च जोखिमयुक्त क्षेत्र हो। आर्थिक वर्ष २०७९/०८० मा ४०१ सवारी साधन दुर्घटनामा संलग्न थिए भने चालु आर्थिक वर्षको वैशाखसम्म यो सङ्ख्या २८५ मा घटेको छ। मृत्यु हुनेको सङ्ख्या ६५ बाट ३७ मा घटेको छ र गम्भीर घाइतेहरूको सङ्ख्या ८२ बाट ८३ मा झरेको छ।
यसरी विभिन्न क्षेत्रहरूका समस्याहरू फरक-फरक देखिए पनि सडक गुणस्तर, सडक अनुशासन र चालकहरूको सचेतना कमजोर रहेकाले उच्च जोखिम कायमै रहेको प्रष्ट देखिन्छ। समस्या समाधानका लागि यी पक्षहरूमा सुधार गर्नुपर्ने देखिन्छ।
त्यस्तै , सवारी चालकहरू प्रति पनि स्थानीयले गुनासो गरेका छन् "धेरै चालकहरूले गति विहीनता गर्छन्, गाडी चलाउँदा मोबाइल प्रयोग गर्छन्," धादिङ स्थानीय बासिन्दा शङ्कर पाण्डेले गुनासो गरे, "धेरै सडकमा पनि लाइन सङ्केतहरू छैनन्।"
यता नेपाल प्रहरीले पनि यी सडक खण्डहरूमा अत्यधिक गति विहीनता, अनावश्यक मोड, सडकको खराब अवस्था र सडक सङ्केत तथा निर्देशनको अभावले गर्दा दुर्घटना बढेको बताउँछ ।
उपत्यकामा बढ्दो सवारी दुर्घटना र सरोकारवाला निकायको चुनौती
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको सङ्ख्यामा केही कमी आए पनि मृत्युदर र गम्भीर घाइतेको सङ्ख्या भने बढ्दो क्रम देखिएको छ। चालु आर्थिक वर्षको बैशाख महिनासम्मकै तथ्याङ्कलाई हेर्दा उपत्यकाभित्र सवारी दुर्घटनामा पर्ने क्रम अझै उच्च रहेको पाइन्छ।
प्रदेशकै सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौंमा भएको तथ्यांकले देखाउछ, काठमाडौंमा बैशाखसम्म ८९ जनाको मृत्यु भइसकेको छ भने १ सय ५१ जना गम्भीर घाइते भएका छन्। गत आर्थिक वर्षको तुलनामा घटस्थापित भए पनि मृतकको सङ्ख्या उच्चै रहेको देखिन्छ। सवारी दुर्घटनाको कुल सङ्ख्यामा भने केही कमी आए पनि मोटरसाइकल दुर्घटना भने बढेर ४ हजार ९ सय २६ पुगेको छ।
यस्तै, ललितपुरमा पनि बैशाखसम्म २९ जनाको मृत्यु भइसकेको छ भने ४६ जना गम्भीर घाइते भएका छन्। भक्तपुरमा पनि मृतक र गम्भीर घाइतेको सङ्ख्यामा वृद्धि भएको छ। यद्यपि कुल दुर्घटनाको सङ्ख्यामा भने केही कमी आएको देखिन्छ।
सरोकारवाला निकायहरूले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कदम चालिरहेका छन्। प्रहरीले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ भने सडक विभागले पनि सडकको स्तरोन्नतिका लागि मर्मतका कामहरू गरिरहेको छ। तर बढ्दो सवारी चापका कारण यी प्रयास पर्याप्त देखिँदैनन्। सरकारले सुरक्षित यातायात सुनिश्चित गर्न कडा कानूनको पालना गराउनुपर्ने देखिन्छ।
विशेषज्ञहरूका अनुसार नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्नुका साथै ट्राफिक प्रहरीलाई आवश्यक प्रविधिमैत्री बनाउनु जरुरी देखिन्छ। यसबाहेक महानगरीय ट्राफिक व्यवस्थापन योजना बनाई लागू गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ। सरोकारवाला सबै पक्षको सहकार्य र प्रतिबद्धताबिना उपत्यकामा सवारी दुर्घटना नियन्त्रण गर्न कठिन हुने देखिन्छ।
मोटरसाइकल दुर्घटनाको बढ्दो क्रम रोक्न नयाँ सोच आवश्यक
बागमती प्रदेशका १३ जिल्लामा गत आर्थिक वर्षमा भएको ट्राफिक दुर्घटनाको तथ्यांकले एउटा चिन्ताजनक तस्बिर देखाएको छ। दुर्घटनामा मोटरसाइकल आर्थात दुईपाङ्ग्रे दुर्घटना सबैभन्दा बढी रहेको देखिन्छ। चालु आर्थिक वर्षको बैशाखसम्ममा मात्र प्रदेशभर ९ हजार ३ सय ४८ वटा मोटरसाइकल दुर्घटना भएका छन्।
गत आर्थिक वर्ष २०७८/७९ मा मोटरसाइकल दुर्घटनाको संख्या ५६ प्रतिशत रहेकोमा यो वर्ष बैशाख मसान्तसम्म ५० प्रतिशत पुगिसकेको छ। यो अंक निकै उच्च हुनुको मुख्य कारण सडक सुरक्षा नियमको उल्लंघन, चालकहरूको लापरवाही र अनुशासनहीनता, बागमती प्रदेशको सडक सञ्जालको अवस्था, मोटरसाइकलको संख्यामा भएको तीव्र वृद्धि तथा सरकारी निकायहरूको अप्रभावकारी अनुगमन जस्ता कारणहरू रहेको विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार सडक सुरक्षा नियम पालना, चालकहरूमा सचेतना अभिवृद्धि लगायतका कदम चाल्न नसकेकै कारण बागमतीमा मोटरसाइकल दुर्घटनाको संख्या उच्च रहेको हो।
गत वर्षको तुलनामा जिप/कारको दुर्घटना पनि बढेर ३७ प्रतिशत पुगेको छ भने बस दुर्घटनाको १२ प्रतिशत पुगेको छ। सडक सुरक्षा कायम गर्न मोटरसाइकल चालकहरूलाई लक्षित गरी विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। सडक सुरक्षा सचेतना, नियम पालनाको दृष्टिले मोटरसाइकल चालकहरू सबैभन्दा बढी जोखिममा रहेका छन्। यसर्थ, दुर्घटना न्यूनीकरणका लागि सरकारी निकाय, नागरिक समाज र नीजि संस्थाहरूले मिलेर मोटरसाइकल चालकलाई टुंग्याउने नयाँ रणनीति लिनुपर्ने देखिन्छ। नयाँ सोच, नयाँ उपायबिना मोटरसाइकल दुर्घटना रोक्न कठिन हुनेछ।
शहरी सडकमा कम, ग्रामीण र राजमार्गमा उच्च
नेपाल प्रहरीद्वारा प्रदान गरिएको पछिल्लो दुर्घटना तथ्यांकअनुसार, बागमती प्रदेशका उपत्यका बाहेकका जिल्लाका शहरी सडक, ग्रामीण सडक र राजमार्गमा विभिन्न महिनामा भएको सडक दुर्घटनाका घटनाहरूमा ठूलो भिन्नता देखिएको छ।
तथ्यांकले देखाएको छ कि शहरी सडकमा दुर्घटना संख्या अपेक्षाकृत कम छ। श्रावण महिनामा शहरी सडकमा ५ दुर्घटना भएका थिए भने भदौमा पनि ५ दुर्घटना नै भएको छ। असोजमा भने यो संख्या घटेर २ मा पुगेको छ।
ग्रामीण सडकमा भने दुर्घटनाका घटनाहरू निकै बढी देखिएका छन्। श्रावण महिनामा ग्रामीण सडकमा १८ दुर्घटना भएको थियो भने भदौमा यो संख्या बढेर १९ पुगेको छ। असोजमा दुर्घटनाको संख्या थप वृद्धि भएर २२ पुगेको छ।
राजमार्गमा भने दुर्घटनाका घटनाहरू निकै उच्च छन्। श्रावण महिनामा राजमार्गमा ७४ दुर्घटना भएका थिए भने भदौमा यो संख्या ७५ मा पुगेको छ। असोजमा राजमार्गमा ८३ दुर्घटना भएको देखिएको छ।
तथ्यांकअनुसार, कात्तिक, मंसिर, पुष, माघ, फाल्गुन, चैत्र, र बैशाख महिनामा पनि राजमार्गमा दुर्घटनाका घटना अत्यधिक रहेको पाइन्छ। कात्तिकमा ८८, मंसिरमा ८९, पुषमा ७३, माघमा ८९, फाल्गुनमा ७८, चैत्रमा ५८ र बैशाखमा ८३ दुर्घटना भएका छन्।
यसैगरी, ग्रामीण सडकमा पनि दुर्घटनाको दर उकालो लागेको छ। कात्तिकमा ५१, मंसिरमा ३७, पुषमा ४२, माघमा ३९, फाल्गुनमा ५७, चैत्रमा ३३ र बैशाखमा ४५ दुर्घटना भएका छन्।
सडक सुरक्षाका लागि सम्बन्धित निकायहरूले थप ध्यान दिनु आवश्यक छ। उच्च दुर्घटनाका कारणहरू पहिचान गरी तिनीहरूको न्यूनीकरण गर्ने उपायहरू लागू गर्नुपर्ने देखिन्छ। शहरी सडकमा दुर्घटना कम भए पनि ग्रामीण सडक र राजमार्गमा दुर्घटनाको दर उच्च छ। प्रहरीको अनुसार, ट्राफिक नियमको पालना नगर्नु, गति सिमित पालना नगर्नु, चालकको र पूर्वाधारका कारण पनि दुर्घटना भैरहेको छ ।
सवारी दुर्घटना न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण
बागमती प्रदेशमा दिनानुदिन बढ्दो सवारी दुर्घटनाको चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीले चालु आर्थिक वर्षमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। प्रहरी विभागद्वारा प्रदान गरिएको तथ्यांकअनुसार यी कार्यक्रमबाट ६२ लाख भन्दा बढी जनसंख्यालाई सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको छ।
विद्यार्थी, सामुदायिक समूह, नयाँ चालक तथा व्यावसायिक चालकहरूलाई लक्षित गर्दै विभिन्न कक्षा, अभिमुखीकरण र सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका छन्। यस्तै, ट्राफिक दिवस र सप्ताहका अवसरमा पनि सशक्त सचेतनामूलक अभियान चलाइएको छ। प्रहरीले प्रिन्ट र अनलाइन मिडियाको समेत प्रयोग गरी सवारी सुरक्षासम्बन्धी जनचेतना फैलाउने प्रयास गरेको छ।
यी कार्यक्रमहरूले सडक सुरक्षासम्बन्धी जनचेतना वृद्धि भएको देखिए पनि केही चुनौतीहरू अझै कायम रहेका छन्। बढ्दो सवारी चाप, सडकको अव्यवस्थित अवस्था र अपर्याप्त मर्मतका कारण दुर्घटनाको सङ्ख्या पूर्णरूपमा नियन्त्रणमा ल्याउन कठिन भएको प्रहरीले औंल्याएको छ। सरोकारवाला निकायहरूबीच समन्वय गरी यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
यसरी, नेपाल प्रहरीले सडक सुरक्षा सचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। तर भविष्यमा यस्ता कार्यक्रमहरूलाई थप व्यवस्थित र लक्षित बनाउनुपर्ने देखिन्छ।