ताप्लेजुङ | ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका—४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भएका छन् ।
पाथीभरामा भरिएका रूपमा काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू, सुरक्षकर्मीतर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी घाइते भएको कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा दुई पक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो । केवलकार निर्माणको लागि शिलान्यास गर्न लगिएको एक्स्काभेटरलाई विपक्षमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो । त्यसपछि केबलकार निर्माण पक्ष र विपक्षबीच झडप भएको जनाइएको छ ।
पाथीभरा माता केवलकार कम्पनीले पाथीभराको काफ्लेपाटीदेखि मन्दिरसम्म केवलकार निर्माण गर्न लागेको हो । यसको नेतृत्व उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले गरेका छन् । ढकालले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका यति समूहका छिरिङ शेर्पाको समूहबाट केवलकार कम्पनी आफ्नो मातहत लिएका हुन् ।
फुङलिङ नगरपालिकाले पाथीभरा माता केवलकार कम्पनीलाई चार वर्षका लागि दिएको अवधि सकिएपछि दोस्रो पटक म्याद थप गरेको छ । केवलकार कम्पनीले हिमालय कन्ट्रक्सनलाई सशस्त्र प्रहरी बेसक्याम्प बस्ने भवन निर्माणलगायतको संरचना निर्माणका लागि ३४ करोडको ठेक्का सम्झौता गरेको छ ।
हिमालयन कन्ट्रक्सनले सेवालुङ निर्माण सेवा लगायतसँग साझेदारी गरेको छ । केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समितिलगायतका ७ संस्थाले निर्माणको विरोध गर्दै आएका छन् । निर्माण कम्पनी शुक्रबार कामको सुरुवात तथा शिलान्यासका लागि गएका थिए ।