हेटौँडा | पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा चुनाव जित्न अत्यधिक खर्च गर्नुपर्ने चलनले भ्रष्टाचारलाई बढावा दिएको भन्दै निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन आवश्यक रहेको बताएका छन्। मकवानपुर प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान निर्वाचन प्रणालीले उम्मेदवारलाई चुनावी खर्चको भारी बोझमा धकेल्ने र यसैबाट भ्रष्टाचारको शुरुवात हुने बताएका हुन्।
दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भ्रष्टाचार न्यूनीकरण र स्थिर शासनका लागि प्रभावकारी हुनसक्ने धारणा राखे। उनका अनुसार, जनतासँग प्रत्यक्ष सम्बन्ध हुने कार्यकारी प्रमुखको व्यवस्था भएमा राज्यको स्रोत र साधनको दुरुपयोग कम हुनेछ र भ्रष्टाचार नियन्त्रणमा थप बलियो भूमिका खेल्न सकिनेछ।
दाहालले माओवादी केन्द्रले देशभरका स्थानीय तहमा खबरदारी अभियानको तयारी गरिरहेको जानकारी पनि दिए। उनले वर्तमान सरकारका केही निर्णयहरूप्रति असन्तुष्टि व्यक्त गर्दै खबरदारी अभियानको माध्यमबाट जनतालाई सरकारका गलत कदमप्रति सजग बनाउने योजना रहेको बताए।
उनका अनुसार, माओवादी केन्द्रले सरकार बाहिर रहँदा जनताको माझ पुग्न र संगठनका आन्तरिक कमजोरी सुधार्दै, परिवर्तनको आवाजलाई थप सशक्त बनाउने प्रयास गर्दै आएको छ। केही दिनभित्रै देशभरका पालिकामा खबरदारी अभियान सुरु हुने र जनचेतना जगाउन विभिन्न गतिविधिहरू सञ्चालन गरिने बताए।
सहकारी ठगी प्रकरणको सन्दर्भमा दाहालले सरकारले राजनीतिक प्रतिशोधका आधारमा केही व्यक्तिहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए। उनले यो मुद्दामा पक्षपात नगरी सबैलाई समान रूपमा कानूनी दायरामा ल्याई निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
दाहालले सहकारी ठगीमा संलग्न सबै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गर्दै यस विषयमा राजनीतिक स्वार्थभन्दा बाहिर रहेर न्यायपूर्ण अनुसन्धान हुनुपर्ने बताए।



