काठामाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायल–हमास द्वन्द्वमा बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कूटनीतिक तहमा सक्रिय पहल गरिरहेका छन्। यसै क्रममा उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग टेलिफोन संवाद गरी विपिनको सकुशल उद्धारका लागि थप सहयोग गर्न आग्रह गरेका छन्।
बुधबार साँझ भएको उक्त संवादमा प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन हमासको नियन्त्रणमा रहेको जानकारी गराउँदै उनलाई चाँडोभन्दा चाँडो मुक्त गराउन इजिप्टले थप भूमिका खेल्नुपर्ने बताए। जवाफमा राष्ट्रपति अब्देलले यस विषयमा निरन्तर प्रयास जारी राख्ने आश्वासन दिए।
गत ७ अक्टोबर २०२३ मा हमासले पश्चिमी इजरायलमा हमला गर्दा विपिन जोशीसहित २५१ जना विभिन्न देशका नागरिक बन्धक बनेका थिए। इजरायल–हमास युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३३ बन्दी रिहा भइसकेका छन्। अहिले दोस्रो चरणको बन्दी आदानप्रदानको प्रक्रिया चलिरहेको छ।
प्रधानमन्त्री ओलीले विपिनलाई दोस्रो चरणको सूचीमा समावेश गराउन इजिप्टलाई विशेष आग्रह गरेका छन्। इजिप्टले यसअघि युद्धविराम प्रक्रिया र बन्दी मुक्तिमा मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको थियो।
प्रधानमन्त्री ओलीले नेपाल सधैँ नै विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्दै, विपिनको रिहाइका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि धन्यवाद दिए। नेपालले इजरायल–हमास युद्धविराम सम्झौतालाई स्वागत गरिसकेको र यो प्रक्रियामा इजिप्टले खेलेको भूमिकालाई सम्मान गर्ने बताए।
प्रधानमन्त्री ओलीले इजिप्टका राष्ट्रपति अब्देललाई आगामी २ देखि ४ जेठसम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ सम्मेलनका लागि निमन्त्रणा गरेका छन्। यो संवाद जलवायु परिवर्तन, हिमाल संरक्षण, र मानव जीवनका भविष्यबारे छलफल गर्न आयोजना गर्न लागिएको नेपाल सरकारको पहिलो विश्वव्यापी पहल हो।
संवादका क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्य गर्न इजिप्टसँग हातेमालो गर्न प्रस्ताव गरे। साथै, संयुक्त राष्ट्रसंघका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमण आदानप्रदान, र नेपाल–इजिप्ट सम्बन्ध विस्तारका विषयमा पनि छलफल भएको थियो।